
काठमाडौँ, ११ फागुन । भारतको एउटा विश्वविद्यालयमा एमबिबिएस भर्ना गराइदिने भन्दै ठगी गर्ने पर्सा विन्दाबासिनी गाउँपालिका बअरुवाभाट घर भई ललितपुर धोबिघाट बस्ने रमेश प्रसाद चौहानलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको बनारसस्थित बनारस हिन्दु युनिभर्सिटी अन्तर्गतको मेडिकल कलेजमा एमबिबिएस भर्ना गराइदिन्छु भन्दै शैक्षिक योग्यताका प्रमाणपत्र र ८ लाख रुपैयाँ लिएर काम नगरेको भन्दै बर्दिया बढैयाताल गाउँपालिका– ८ का अंकित गुप्ताले महानरीय प्रहरी अपराध अनुसन्धान महाशाखा टेकुमा उजुरी दिएका थिए । गुप्ताको उजुरीका आधार प्रहरी चौहानलाई पक्राउ गरि आवश्यक कारवाही प्रक्रिया अघि बढाएको छ ।
चौहानले उक्त विश्वविद्यालयमा भर्ना गर्न ३५ देखि ४० लाख भारतीय रुपैयाँ लाग्छ भनी विश्वास दिलाएको देखिएको छ । गएको असोज ३ गते भर्नाको प्रक्रिया शुरु गर्ने भनी पीडितबाट ८ लाख रकम लिएको तथा गुप्ताले काम छिटो गरिदिन भनी घच्घचाउँदा चौहानले छनौट भएको भन्ने नक्कली भर्ना पत्र दिएको प्रहरीले जनाएको छ । साथै बाँकी ३० लाख भारतीय रुपैयाँ पीडितबाट मागेको प्रहरी अनुसन्धानबाट खुलेको छ । चौहानको साथबाट मोबाइल, भारतको विदेश मन्त्रालय लेखिएको कागजातहरु, विभिन्न शैक्षिक संस्थाहरुको नक्कली भर्ना कागजात, शैक्षिक संस्थाहरुको नक्कली छाप, नक्कली कागजातहरु तयार पार्न प्रयोग भएको ल्यापटप समेत बरामद गरिएको महानरीय प्रहरी अपराध अनुसन्धान महाशाखा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नरेन्द्र प्रसाद उप्रेतीले जानकारी दिए ।
मुलुकी ऐन ठगी महल अनुसार ठगी गर्ने व्यक्तिलाई कसुरको मात्रा हेरी ५ वर्षसम्म कैद र विगो भराई विगो बमोजिम जरिवाना हुने व्यवस्था रहेको छ ।












प्रतिक्रिया