![]()
-गोपालप्रसाद पोखरेल
पथरी, १० फागुन । वरपरका निजी विद्यालयमा विद्यार्थी भरिभराउ भइरहँदा उर्लाबारीका सामुदायिक विद्यालयमा संख्या पातलिएको छ । शहरका तुलनामा गाउँका विद्यालयमा विद्यार्थी थोरै पाइएको हो । प्रायः अभिभावकको आकर्षण निजी विद्यालयप्रति बढ्दै गइरहेको छ । निजी विद्यालयप्रति अभिभावकको आकर्षण बढ्दा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्यामा कमी आएको हो । निजीको तुलनामा सरकारी विद्यालयको पूर्वाधार राम्रो बनाउँदै लगिए पनि विद्यार्थीको संख्यामा भने कमी आइरहेको छ ।
एकताका सामुदायिक विद्यालयमा विद्यार्थी खचाखच हुन्थे, कक्षा कोठालाई सेक्सन ‘ए’, ‘बी’ र ‘सी’ सम्म राखिएको पाइन्थ्यो, तर अचेल एउटा कक्षामा चार–पाँचजना मात्र विद्यार्थी पाइन्छन् । विद्यार्थीभन्दा शिक्षक–कर्मचारीहरुको संख्या नै बढी देखिन थालेको छ । उर्लाबारीको महाराज आधारभूत विद्यालयमा पनि विद्यार्थीको संख्या निक्कै कम छ । समाचारका लागि विद्यालय पुग्दा कक्षा २ मा दुई र ५ कक्षामा पाँच विद्यार्थी मात्र पठनपाठन गरेको पाइयो । अन्य कक्षामा पनि संख्या उस्तै छ । तर शिक्षक भने विद्यार्थी गयल भएको बताउँछन् ।
सामुदायिक विद्यालयको पढाइ खस्किएको भन्दै अभिभावकले निजी विद्यालयमा छोराछोरी पठनपाठनका लागि भर्ना गरेपछि विद्यालयमा विद्यार्थीको संख्या घटेको हो । तर विद्यालयका प्रअ गजेन्द्र राई पठनपाठनमा कमी नआएको बताउँदै भन्छन्, ‘अहिले अभिभावकहरु सम्पन्न हुनुभएको छ । त्यसैले पनि उहाँहरु निजी विद्यालयमा छोराछोरी पढाउनुहुन्छ ।’
यद्यपि, आफूहरुले विद्यार्थी पुनः विद्यालयमा फर्काउनका लागि विभिन्न तारतम्य गरिरहेको प्रअ राईको भनाइ छ । उनले भने, ‘नजिकै बोर्डिङ खुलेपछि हाम्रा विद्यार्थी त्यहाँ गए ।’ उर्लाबारीकै प्रभात आधारभूत विद्यालयमा पनि पहिलेको तुलनामा विद्यार्थी संख्या घटेको छ । अहिले विद्यालयमा १२ जना विद्यार्थी रहेको प्रअ मोहन चापागाईंले बताए ।
निजी विद्यालयमा विद्यार्थी ओइरिनुको मुख्य कारण भनेको अंग्रेजी शिक्षा नै हो । छोराछोरीहरु राम्रो अंग्रेजी पढ्न, लेख्न र बोल्न सक्छन् भनेर पनि निजी विद्यालयमा नानीहरु पठनपाठन गराएका हौँ, उर्लाबारी–६ की कञ्चन भण्डारी भन्छिन् । ‘नियमित होमवर्क र बालबालिकाको अन्तरनिहित प्रतिभामा निजी विद्यालयले ध्यान दिएको पाइन्छ । स्कूल बसले नानी घरसम्म ल्याइदिने पु¥याइदिने गर्छ । सरसफाइलगायत सुरक्षामा पनि ध्यान दिएकाले सामुदायिकको तुलनामा चिन्तामुक्त हुन्छौँ,’ उनी भन्छिन् ।
सामुदायिकमै राम्रो पढाइ भए निजी विद्यालयमा आर्थिक भार बोकेर छोराछोरी पढाउने रहर नभएको उहाँको भनाइ छ । उर्लाबारीकै राजघाट निमाविमा पनि विद्यार्थीको संख्या निक्कै घटेको छ । विद्यालयकी एक अभिभावक मनिषा कार्कीले खुलेरै शिक्षक तथा विद्यालयको विरोध गरे । उनले आक्रोशित हुँदै भने, ‘मेरो नानी बोर्डिङ स्कूल हँुदा एबिसिडी फरर लेख्थी । आर्थिकभार धान्न नसकेर यहाँ पढाउन थालेको, बोर्डिङमा जानेको पनि यहाँ आएपछि सबै लेख्न बिर्सीई । यसैबाट प्रस्ट हुन्छ गुणस्तर कस्तो छ ।’-रासस












प्रतिक्रिया