
काठमाडौ, ९ फागुन । तराई विकास तथा सञ्चार केन्द्र नेपाल र नेपाल दुरसञ्चार प्राधिकरणको सहकार्यमा बुधबार ललितपुरमा ‘नेपालमा सूचना प्रविधिको प्रयोगको अवस्था र चुनौतीहरु’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेकपा एमालेका सचिव तथा पार्टी प्रचार विभागका प्रमुख योगेश भट्टराईले राज्यको सेवा सुविधालाई तल्ला तहसम्म र सरोकारवाला सबैमा पु¥याउने माध्यम नै सुचना प्रविधि भएकोले यसको भरपुर उपयोग गर्नुपर्ने बताए । नेपालको राजनीतिक दलहरु प्रविधिमैत्री नभएको संज्ञा दिँदै उनले नेपालका राजनीतिक पार्टीहरु प्रविधिमैत्री नभएकाले आफ्नो पार्टीलाई प्रविधिमैत्री बनाउन ध्यान केन्द्रीत रहेको बताए ।
हालै प्रतिनिधिसभामा ताप्लेजुङ्गबाट विजयी हुनुभएका भट्टराईले भने–‘हिजोका दिनमा उद्योग खोलेर धनि हुने प्रचलन भएपनि आजका दिनमा पुँजी बजार सेवा क्षेत्रतर्फ अगाडि बढिरहेको छ ।’ सेवा क्षेत्रमा पुँजीको बृद्धि हुँदा राष्ट्रिय उत्पादनमा समेत बृद्धि भएको युवा नेता भट्टराईले बताए ।
कार्यक्रममा राष्ट्रिय सभाका सदस्य रामनारायण विडारीले सुचना प्रविधिले जनजीवनमा धेरै सरलता प्रदान गरेको जनाउँदै भने -‘अदालतको मुद्दा कहाँ पुग्यो, बहस कहाँ पुगेको छ भनेर घरमै बसेर बुझ्ने गरेको छु ।’ नेपालमा आइटीको क्षेत्रमा सबैभन्दा बढी फड्को मारको भन्दै त्यसको दुरुपयोग भने गर्न नहुनेमा उनको जोड थियो ।
त्यस्तै कार्यक्रममा विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले सबैभन्दा बढी आइटीको आवश्यकता विद्युत प्राधिकरणलाई भएको धारणा राखे । उनले भने -‘आइटीको सही सदुपयोग गर्न सकेमात्र विद्युत प्राधिकरणको स्टेशन चलाउन सहज हुनेछ ।’
कार्यक्रममा अपराध अनुसन्धान महाशाखाका प्रमुख (डिआइजी) पुष्कर कार्कीले समेत आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा तराई विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्दप्रसाद चौलागाईंको अध्यक्षतामा भएको हो ।












प्रतिक्रिया