
दोहा । कतारको सामुदायिक प्रहरीले नेपाली समुदायको प्रशंसा गरेको छ ।
कतारको सामुदायिक प्रहरी विभाग, मानव अधिकारका प्रतिनिधिले नेपाली समुदायका अगुवालाई भेटी नेपाली समुदाय अनुशासित भएकाले समुदायको हितका लागि सहकार्य गर्न तयार रहेको बताएका हुन् ।
सामुदायिक प्रहरी विभागका प्रमुख हमिद मोहम्मिद अल मोहन्नदीले कतारको विकासमा नेपालीको अथाह सहयोग रहेको भन्दै प्रशंसा गरे । अन्य देशका आप्रवासीको तुलनामा कतारमा रहेका नेपालीहरुले कानुनको पालना गरिरहेको भन्दै उनले नेपाली समुदायलाई साथ र सहयोग गर्न तयार रहेको बताए ।
समुदायिक प्रहरी विभागका समुदाय संयोजक डा बहाउद्दिनले नेपाली समुदायसँग समन्वय गरी कतारका विद्यमान कानुनलाई समुदायस्तरसम्म लैजान आफूहरू तयार भएको बताए ।
अन्तरक्रियामा कतारी श्रम ऐनको नेपाली भाषामा अनूदित संस्करण विमोचन गरिएको थियो । नेपाली समुदायसँग सहकार्य गरेको भन्दै प्रवासी नेपाली मञ्चका अध्यक्ष चाणक पोखरेलले प्रहरी विभागलाई कदरपत्र प्रदान गरेका थिए ।















प्रतिक्रिया