२९ आश्विन २०८३, बिहिबार

खानेपानी आपूर्ति सङ्कट समाधान गर्न राष्ट्रपतिको विदेश छोट्याइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maldives-City-Background-HD-Wallpaperमाले (मालद्वीप), २२ मंसिर । मालद्वीपका राष्ट्रपति अब्दुल्ला यामिनले आफ्नो पर्यटन केन्द्र मुलुकको राजधानीमा देखा परेको खानेपानी सङ्कट समाधान गर्न मलेसियाको भ्रमण छोट्याउनुभएको छ । यस समस्याका कारण सडकमा अस्थिरता पैदा भएको छ ।

प्रमुख द्वीप मालेका वासिन्दाले तेस्रो दिन पनि धारामा पानी पाएनन् । प्रमुख प्रशोधन संयन्त्रमा आगो लागेपछि राजधानीमा पानीको आपूर्ति कमी भएको हो र त्यसका कारण स्थानीय वासिन्दा क्रुद्ध भएका छन् ।

राष्ट्रपति यामिनले आफ्नो मलेसिया भ्रमण कटौती गर्नुभएको छ र शनिबार राती नै माले फर्कनुभएको जानकारी उहाँको कार्यालयले एक विज्ञप्ति प्रकाशन गरी दिएको छ ।

उहाँले यो सङ्कट समाधान गर्न अधिकारीहरूसँग मिलेर काम गर्नुभएको छ र भारत, श्रीलङ्का तथा चीनबाट ल्याइएको खानेपानी बोतल वितरण गरिरहनुभएको छ ।

बङ्गलादेशले आइतबार एक लाख लिटर बोतल पानीका साथमा पाँच अन्यत्र लैजान सकिने पानी प्रशोधन संयन्त्र एक जहाजमा उक्त द्वीपहरूको समूहतर्फ पठाएको जानकारी दिएको छ ।

बङ्गलादेशको नौसेनाले उसको जहाज आइतबार बिहान चटगाउँ छोडेको र चार दिनमा माले पुग्ने जानकारी दिएको छ ।

राष्ट्रपति यामिनले शनिबार मालद्वीपका नागरिकलाई यस अवधिमा धैर्य वहन गर्न तथा एकतामा बाँधिन आग्रह गर्नुभएको छ । उहाँले जनतालाई यो समस्या समाधान गर्न सरकारलाई सहयोग गर्न पनि आग्रह गर्नुभएको छ ।

हाल मालद्वीपका वासिन्दाबीच झगडा देखा परेको छ भने रासनमा पानी वितरण गर्ने पसलमा आक्रमण हुनथालेको छ । सरकारले जनताको क्रोध कम गर्न आइतबार तथा सोमबार दुई दिन सार्वजनिक विदा घोषणा गरेको छ ।

विश्वको सबैभन्दा अधिक जनघनत्व भएका स्थानमध्ये एक मालेमा खानेपानी आपूर्ति बढ्न थालेपछि आइतबार परिस्थिति शान्त देखा परेको छ ।

स्थानीय वासिन्दाले राजधानीको प्रमुख आपूर्तिकर्ताहरूले छोटो समयका लागि पानी तान्ने काम आरम्भ गरेको जानकारी दिएका छन् । यसो भए पनि मालेका अग्ला भवनका माथिल्ला तलमा पानी पुग्न कठिन देखिएको छ ।

यस मुलुकका अन्य पर्यटकीय द्वीपका आफ्नै ऊर्जा उत्पादन तथा खानेपानी प्रशोधन संयन्त्र भएका कारण यस्तो समस्या देखिएको छैन ।

सरकारले मालेका एक लाख २० हजार वासिन्दा तथा बङ्गलादेश, भारत, नेपाल, पाकिस्तान तथा श्रीलङ्काका हजारौँ कामदारलाई निःशुल्क खानेपानी उपलब्ध गराउने बचन दिएको छ । – एएफपी