
काठमाडौँ, २३ माघ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव हारेका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विमलेन्द्र निधि र पत्नी आरजु देउवालाई राष्ट्रिय सभामा मनोनयन गर्न पार्टीभित्र छलफल चलाएका छन्।
हारेका तीनैजनालाई राष्ट्रिय सभामा मनोनित गर्न लागेको भन्दै कांग्रेस भित्र देउवाको आलोचना पनि सुरु भएको छ। सबै प्रदेशबाट ५६ जनाको निर्वाचन माघ २५ गते सकिएलगतै सरकारले बाँकी तीनमा मनोनयन गर्नेछ।
राष्ट्रियसभामा एक महिलासहित तीनजनालाई सरकारी सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था रहेको छ।
आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ- कांग्रेसको नेतृत्वको सरकारले मनोनित गर्ने तीनजनाबारे अहिले चर्चा हुन थालेको छ। देउवाले पौडेल, निधि र पत्नीलाई मनोनयन गर्ने विषयमा छलफल चलाएका स्रोतको दाबी छ।
सकेसम्म हारेकालाई राष्ट्रिय सभामा नलाने, लानैपरेमा पौडेल, निधि र आरजु मध्येबाट पर्न सक्ने कांग्रेस स्रोत बताउँछ। ‘जहाँसम्म चुनावी प्रक्रियामा सहभागी भएर चुनाव हारेकालाई राष्ट्रिय सभामा लगिदैन’, देउवानिकट एक कांग्रेस नेताले भने, ‘हार्ने लानुपर्ने अवस्था आएमा उहाँहरु (पौडेल र निधि र आरुजु) नै पर्न सक्नुहुन्छ।’
देउवाले आरजुसहित एमाले नेता वामदेव गौतम र माओवादी नेता नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभामा लान गरेको प्रस्तावलाई एमाले र माओवादीले अस्वीकार गरेका छन्।












प्रतिक्रिया