
– सीताराम चौधरी
चन्द्रौटा (कपिलवस्तु), २० माघ । सविता थारुले ९१ वर्षको उमेरमा बल्ल नेपाली नागरिकता पाइन् । शिवराज नगरपालिका ५, रहटकोल निवासी सविताले ढल्किँदो उमेरमा बल्ल नागरिकता बनाएकी हुन् ।
उनले शिवराज नगरपालिका १, कपिलवस्तु ठेगानाबाट नागरिकता पाएकी छिन् । इलाका प्रशासन कार्यालय चन्द्रौटाका जगदीश अर्यालले उनलाई बंसजको आधारमा नेपाली नागरिकता हस्तान्तरण गरे ।
नागरिकताकै कारण राज्यको सेवा सुविधाबाट बन्चित भएकी सविताको सिफारिस आएपछि प्राथमिकताका साथ बृद्धा आमालाई नागरिकता बनाई हस्तान्तरण गरेको प्रशासन प्रमुख अर्यालले बताए । जीवनको सँघारमा पुग्दा समेत नागरिकता नपाउनु र राज्यले दिएको सामाजिक सुरक्षा भत्ताबाट समेत बन्चित हुनु निकै दुःखद रहेको बताउँदै यो उमेरमा नागरिकता हातमा दिन पाउँदा खुशी लागेको कार्यालय प्रमुख अर्यालको भनाई छ ।
उमेर निकै छिप्पिएपछि मात्रै नागरिकता पाउँदा सविता निकै खुशी भएकी छिन् । नागरिकता पाउँदा हर्षित मुद्रामा उनी भन्छिन्, ‘अब त मैले पनि बृद्धभत्ता पाउने भएँ ।’
इलाका प्रशासन कार्यालय चन्द्रौटाले चालु आर्थिक वर्षको साउनदेखि हालसम्म वशंजका आधारमा ३ हजार ६४८ वटा नागरिक वितरण गरेको छ । यसैगरी वैवाहिक अंगीकृत नागरिकता ३४९ र अंगीकृत २ जनालाई प्रदान गरिएको कार्यालय प्रमुख अर्यालले बताए ।
प्रशासनबाट प्रतिलिपि नागरिकता, आदिवासी जनजाति, दलित, मधेशी प्रमाणित नागरिकता १ हजार २५२ वटा वितरण भएको कार्यालय प्रमुखले बताए । यसैगरी नाबालक परिचय पत्र १८ जनालाई दिएको उनको भनाई छ ।












प्रतिक्रिया