२२ कार्तिक २०८३, आइतबार

सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठबाट दर्ज्यानी चिन्ह प्रदान

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

   काठमाडौँ, १७ माघ । सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती भएकाहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

महानिरीक्षक श्रेष्ठले अतिरिक्त महानिरीक्षकमा पदोन्नती भएकाहरु जानकीराज भट्टराई, सुबोध कुमार अधिकारी, निराकारम बिक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठलाई बुधबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित एक समारोह बीच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

नेपाल सरकार मन्त्रिपरिषदको यही माघ १५ गतेको निर्णयले उनीहरु सशस्त्र प्रहरी नायव महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका थिए । सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले सो अवसरमा राष्ट्र र संगठनको हितलाई सर्वोपरी मानेर पदीय जिम्मेवारीलाई व्यावसायीक कार्यकुशलताका साथ पुरा गर्न निर्देशन दिए ।

उनले सरुवा, बढुवा, नियुक्ति जस्ता कार्य संगठनको नियमित प्रक्रिया भएको उल्लेख गर्दै वृत्तिविकासका यस्ता महत्वपूर्ण अवसरमा सबैको चासो रहनु स्वभाविक रहेको बताए । सबै तहका सशस्त्र प्रहरी कर्मचारीहरुको वृत्तिविकासका लागि संगठनले आवश्यक कार्य योजनाका साथ प्रयास गरिरहेको बताउँदै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले डडेलधुरा जिल्लामा सशस्त्र प्रहरी बलको गुल्म स्थापनाको लागि दरवन्दी स्वीकृत हुनुको साथै एपीएफ अस्पतालका लागि समेत दरवन्दी थप भएको चर्चा गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले मुलुक संघीय संरचनामा प्रवेश गरिसकेको सन्दर्भमा सशस्त्र प्रहरी बल नेपालले पनि सोही बमोजिम आफ्नो सांगठनिक ढाँचामा पुनर्संरचना गर्दै अगाडि बढिरहेको चर्चा गरे । उनले कार्यक्षेत्रमा सुरक्षा निकाय, स्थानीय जनता र सरोकारवाला पक्षहरुसँग आवश्यक समन्वय र सहकार्य गर्दै कार्य गर्नुपर्ने उल्लेख गर्नुहुँदै आगामी दिनमा सशस्त्र प्रहरी बल नेपाललाई अझै अब्बल सुरक्षा संगठनको रुपमा स्थापित गर्ने क्रममा आइपर्ने जस्तोसुकै चुनौतीहरुलाई सामना गर्दैै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर कर्तव्य निर्वाह गर्न निर्देशन दिए ।