
लमजुङ, १७ माघ । चिती साहित्य समाज, लमजुङको अध्यक्षमा स्थिरबाबु घिमिरे सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।
बेसीशहर नगरपालिका वडा नम्बर ११ चितीमा भएको सातौं बार्षित्कोत्सव तथा तेस्रो साधारणसभाले घिमिरेलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो । साहित्य समाजको संस्थापक समेत रहेका घिमिरे निवर्तमान सचिव हुन् ।
समाजको उपाध्यक्षमा रमेशबाबु विष्ट, सचिवमा सूचना सिलवाल, सहसचिवमा ज्ञानेन्द्र आले मगर र कोषाध्यक्षमा सपना श्रेष्ठ निर्वाचित भएका छन् । यसैगरी, सदस्यहरुमा विष्णुप्रसाद रेग्मी, नेत्रबहादुर कुताल, हरिकृष्ण तिवारी, रघुवीर श्रेष्ठ, नवीन परियार र अर्जुन पाण्डे सर्वसम्मत भएका छन् । ११ सदस्यीय समितिमा २ सदस्य पछि थपिने नवनिर्वाचित अध्यक्ष घिमिरेले दैनिक नेपाललाई बताए ।
चिति तिलाहारको जनकल्याण उच्च माविको प्राङ्गणमा गजल विद्यामा प्रथम विद्यावारिधि गरेका गजल शिरोमणि घनश्याम परिश्रमीको प्रमुख आतिथ्यतामा उत्साहजनक तरिकाले अधिवेशन भएको थियो । प्रमुख अतिथि परिश्रमीले गजलले माया पीरतिका विषयहरु मात्रै नभएर समग्र समाज र देशको यथार्थ वस्तुस्थितिको चित्रण गर्न सक्ने बताए । गजल कसरी लेख्नुपर्छ र गजल कस्तो हुनुपर्छ भन्ने विषयमा उनले प्रशिक्षण समेत दिएका थिए ।
चिति साहित्य समाजका संरक्षक एवं कार्यक्रमका विशेष अतिथि गोविन्दबाबु तिवारीले चिति साहित्य समाजले भाषा साहित्य र धार्मिक कार्यमा महत्त्वपूर्ण भूमिका खेलेको नेपाली मौलिकता संरक्षणको लागि थप जिम्मेवार भएर लाग्नुपर्ने बताए ।
अतिथिद्वय धर्मेन्द्र भट्टराई र शान्त बस्नेतले पनि आफ्ना गजल पस्केका थिए । कार्यक्रममा सम्पूर्ण आजिवन सदस्यहरुलाई रुद्राक्षको मालाले सम्मान गरिएको थियो भने राम्रो गजल प्रस्तुत गर्ने गजलकारहरु विद्यार्थीहरुलाई समाजका अध्यक्ष रुद्रनिधि तिवारी लगायतले सम्मान गरेका थिए ।












प्रतिक्रिया