– बेलिना थापा
लमजुङ, १५ माघ । मर्स्याङ्दी गाउपालिका वडा नम्बर ४ लाई पुर्ण सरसफाई वडा घोषणा गरीने भएको छ । वडा समितिले सोमबार आयोजना गरेको पुर्ण सरसफाई सम्बन्धी बृहत छलफलबाट वडालाई चैत्र ८ गते गाउपालिका भित्रकै पहिलो वडाको रुपमा पूर्ण सरसफाई वडा घोषणा गरीने निर्णय गरीएको हो ।
वडा अध्यक्ष सुमन गुरुङको अध्यक्षतामा भएको छलफलले वडा भित्र रहेका २० वटा टोलहरुको माघ २१ गते जनप्रतिनिधिहरुले अनुगमन गर्ने भएको छ । वडा समिति प्रत्येक टोलटोलमा पुग्नेछ । यस्तै माघ २८ गते टोलस्तरीय सरसफाई प्रतियोगिता संचालन गरीने भएको छ । प्रतियोगितामा उत्कृष्ट हुने टोललाई नमुना बस्तीको रुपमा विकास गरिने निर्णय भएको वडा अध्यक्ष सुमन गुरुङले बताए । सो प्रतियोगितामा आरसीडीसी लमजुङले प्राविधिक सहयोग गर्नेछ ।
यस्तै, छलफलबाट फागुन ५ गते वडामा जिल्ला खानेपानी तथा सरसफाई डिभिजन र वडा समितिले संयुक्त रुपमा अनुगमन गर्ने भएका छन् । सरसफाईका सबै शूचांक पुरा भएपछि चैत्र ८ गते वडा नम्बर ४ लाई पूर्ण सरसफाई वडा घोषणा गर्ने निर्णय भएको अध्यक्ष गुरुङले बताए ।
छलफल कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटिका सदस्य महेन्द्रबहादुर थापा, नेपाली काँग्रेस वडा सभापति बिलबहादुर गुरुङ, शिक्षक, बुद्धिजिवि, वडाभित्र रहेका टोल सुधार समितिका पदाधिकारी, वडाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । छलफल कार्यक्रम वडा नम्बर ४ को वडा कार्यलय छाँपडाँडामा भएको थियो ।












प्रतिक्रिया