काठमाडौँ, १२ माघ । राष्ट्र संघीय विकास कार्यक्रमको सहभागितामा यती एयरलाईन्सले ‘कार्बन न्युट्रल’ एयरलाईन्सका रुपमा स्थान्तरण गर्ने औपचारिक कार्यको थालनी गरेको छ ।
शुक्रबार होटल हिमालयमा आयोजित कार्यशालामा नेपाल सरकार, नागरिक उडडयन प्राधिकरण, नागरिक समाजका अगुवा संघ संस्थाहरु र निजि क्षेत्रको सहभागितामा एयरलाईन्सले विगत एक वर्षको उत्सर्जन गरेको हरित गृह ग्याँस र त्यसले वातावरणमा पार्ने असरका बारेमा छलफल गरिएको थियो ।
यती एयरलाईन्सका प्रमुख कार्यकारी अधिकृत उमेश चन्द्र राईका अनुसार नागरिक उडड्यन प्राधिकरण र राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)को अमूल्य सहयोगका कारण यती एयरलाईन्स ‘कार्बन न्युट्रल’को दिशामा अघि बढ्ने नेपालकै पहिलो वायु सेवा हुन सफल भएको छ । उनले भने, ‘हामी सबैको सहयोगले निश्चय नै यस दिशामा सानै भएपनि ठोस सहयोग पु-याउन सक्नेछौँ ।’
राष्ट्रसंघिय विकास कार्यक्रम नेपालको निर्देशक रेनोड मेयर नेपालमा पहिलो पटक यती एयरलाईन्सले आफुलाई ‘कार्बन न्युट्रल कम्पनी’का स्वरुपमा रुपान्तरण गर्ने ऐतिहासिक र साहसिक निर्णय गरेकोमा एयरलाईन्सलाई बधाई दिए । उनले भने, ‘यस कार्यले अरु थुप्रै कम्पनीहरुलाई पनि राष्ट्र संघको दिगो विकास लक्ष्य–२०३० प्राप्त गर्ने दिशामा ठोस योगदानहरु पु-याउन प्रेरणा मिल्नेछ ।’

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिब गौतमले पनि यती एयरलाईन्सको निर्णयले प्राधिकरणको उड्डयन क्षेत्रलाई वातावरण मैत्री बनाउने तथा हरित गृह ग्याँस कम गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रयासमा ठोस योगदान पु-याउन मद्दत हुने कुरामा विस्वस्त भएको बताए ।
प्रारम्भिक तथ्याङक अनुसार सन् २०१७ मा यती एयरलाईन्सले १८ हजार १३३ टन कार्वन उत्सर्जन गरेको छ । यसको मुख्य श्रोत एयरलाईन्सले शहरी क्षेत्रमा पु-याउने हवाई सेवा वापत वायुयानहरुले प्रयोग गर्ने ईन्धन नै हो । सो परिमाणको कार्वन व्यवस्थापन गर्न ४ लाख ७० हजार रुख विरुवालाई दशबर्षको समय लाग्छ । एयरलाईन्समा नयाँ फ्लिट थप गरेसँगै सन् २०१६ को भन्दा सन् २०१७ मा प्रतियात्रु ७ प्रतिशत र प्रति किलोमीटर ११ प्रतिशत कार्वन उत्सर्जन घटेको एयरलायन्सले बताएको छ ।















प्रतिक्रिया