– रबिना बोहरा
बागलुङ, १२ माघ । बागलुङमा निर्माणाधिन साना ठुला सबैजसो आयोजनामा कामदार अभाव हुँदा विकास निर्माणको क्षेत्रमा ढिलासुस्ती हुने गरेको देखिएको छ । युवा पुस्ताले स्थानीय स्तरमा मजदुर काम गर्न नरुचाउने एवं बैदेशिक रोजगारी मोहका कारण बाहिरी जिल्ला तथा छिमेकी मुलुक भारतबाट समेत मजदुरहरु ल्याएर काम गराउनु परेको निर्माण व्यवसायीहरुले बताए ।
राष्ट्रिय गौरवका आयोजना मानिएका मध्य पहाडी लोकमार्ग, कालिगण्डकी करिडोर लगायत जिल्लामा सञ्चालित आयोजनाहरुमा मजदुर अभाव भएपछि विकास निर्माणका काममा ढिलासुस्ती हुने गरेको निर्माण व्यवसायीहरु बताउछन् । निर्माणाधीन अवस्थामा रहका आयोजनाहरुले चाहिएभन्दा आधा कम मात्र मजदुर पाउने गरेका छन् । त्यसमा पनि बढि भारतीय नागरिक रहेको निर्माण व्यवसायी संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारीले बताए ।
नेपालमा श्रमिकलाई सम्मान गर्ने परिवेश नभएकाले पनि यस्तो समस्या देखिएकाले यसको दृष्टिकोणलाई बदलेर सुविधा बढाउनुपर्ने कतिपय बताउँछन् । ज्यालादर कम हुनु, श्रमको मुल्याङकन नहुनु एवं निरन्तर कामको प्रत्याभुति नहुँदा यस्तो समस्या रहेको देखिन्छ । स्वदेशमा कम पारिश्रमिक पाइने भएकाले नेपाली युवा वैदेशिक रोजगारमा जान रुचाउँछन् । खाडी मुलुकहरूमा मात्रै ३० देखि ३५ लाखसम्म नेपालीले कठोर श्रम गरिरहेको तथ्यांक छ ।
रोजगारीका लागि कतार गएर भर्खरै फर्केका बागलुङ नगरपालिकामा बस्ने सन्तोष क्षेत्रीले पारिश्रमिक र कामको मुल्याङकन नहुँदा विदेशिनु परेको गुनासो गरे । जिल्ला ज्यालादर निर्धारण समितिले हरेक वर्ष मजदूरको ज्यालादर निर्धारण गर्ने गर्छ ।
हाल बागलुङमा दक्ष कामदारहरुको ८ सय ७० र अर्धदक्ष कामदारका लागि ६ सय ५० रुपैँया दैनिक ज्यालादर निर्धारण गरिएको छ । तर सरकारी ज्यालादर अनुसार पनि रकम उपलब्ध नगराउने मजदुरहरुले गुनासो गर्छन् । प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले निरन्तर रुपमा अनुगमन गर्न नपाए पनि छड्के अनुगमन गर्ने गरेको बताए । उनले जिल्लाले तोकेको ज्यालादर नदिए कानुनी कारबाही गर्ने बताएका छन् ।
वैदेशिक रोजगारलाई निरुत्साहित नगरे नेपालकै निर्माण क्षेत्र ठप्प हुने व्यवसायीहरू बताउँछन् । अहिलेको न्युन ज्यालादर बढाएर वैदेशिक रोजगारमा जानेहरूलाई स्वदेशकै काममा रमाउने वातावरण बनाउन सके विकास निर्माणमा टेवा पुग्ने देखिन्छ ।












प्रतिक्रिया