– टेकराज भण्डारी
अछाम, १२ माघ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकारले काम चलाउ अवस्थामा पनि देशलाई दीर्घकालीन असर गर्ने निर्णय गरेर लोकतान्त्रिक मूल्य मान्यताका सम्पूर्ण पर्खाल भत्काएको बताएका छन् । प्रेस चौतारी अछामले जिल्लाको साँफेबगरमा गएको पत्रकार सम्मेलनमा बोल्दै रावलले बर्तमान सरकारले काम चलाउ अवस्थामा आर्थिक नीति, नियम र असंवैधानिक तरिकाले गरेका निर्णय नयाँ बन्ने सरकारले पुनरावलोकन गर्ने बताए ।
हालै सरकारले सामाजिक सुरक्षा भत्ता पाउने उमेर ६५ बर्ष तोकेको भन्दै यो सरकाको स्वेच्छाचार र वीत्तिय अनुशाशन हिनता भएको रावलको आरोप छ । संसदले पारित गरेको नीति, कार्यक्रम तथा बजेटका आधारमा मात्रै निर्णय गर्न पाईने भन्दै बजेटमै उल्लेख नभएको निर्णय गर्नु जनतालाई ढाट्ने काम भएको रावलको भनाई छ ।
निर्वाचन भैसकेपछि सरकारले सरुवा बढुवा लगायतक काम गर्न नपाउने भन्दै पूर्व उपप्रधानमन्त्री रावलले यस अघि डलरमा जलविद्युत आयोजनाको सम्झौता गर्दा देशलाई घाटा हुने काम भएको थहा पाउँदा पाउँदै फेरी पनि डलरमा विद्युतको सम्झौता गरेर प्रधानमन्त्रीले देशको अर्थतन्त्रलाई कमजोर पार्ने काम गर्न खोजेको रावलको भनाइ थियो ।
अब बाम सरकार र पार्टी एकताले छिट्टै पूर्णता पाउने भन्दै नयाँ सरकारले देशको विकास र समृद्धिका लागि काम गर्ने नेता उनले बताए । निर्वाचन आयोगले संविधानले परिकल्पना नगरेकै विषयमा आफुखुसी व्याख्या गरेर निर्वाचनको परिणामलाई रोक्ने काम गरेको र सरकारले आयु लम्ब्याउने काम गरेको समेत उनले आरोप लगाए ।
नेता रावलले अब देशलाई तीब्र आर्थिक विकासमा अघि बढाउनुपर्ने बताए । आफुले सुदूरपश्चिम र प्रदेश ७ को विकासका लागि विभिन्न योजना अघि बढाएको उनले बताए । सरकारले प्रदेश राजधानी तोक्दा षडयन्त्र गरेको भन्दै रावलले आफुहरु सबै कुरालाई ध्यानमा राखेर दुईतिहाई मतले टुंगो लगाउने बताए ।












प्रतिक्रिया