सिरहा, २० मंसिर । लहानस्थित पशुपति मावि अगाडिको सडकमा स्कुटीको ठक्करबाट चारजना महिला रेडियोकर्मी घाइते भएकी छन् । तीनजनाको अवस्था गम्भीर छ ।
घाइते हुनेहरुमा भोजपुरकी अशोदा ढकाल, धनगढी–५ की पार्वती पाण्डे, गाईघाटकी निशा दनुवार र धनगढीकी वर्षा राई छिन् ।
शुक्रबार राति जन्तीलाई रिसिभ गर्न पैदल हिँडेर रौनियार सेवा सदनबाट विशाल होटलतर्फ जाँदै गर्दा स४प १८७० नम्बरको स्कुटीले पछाडिबाट ठक्कर दिएर उनीहरुलाई घाइते बनाएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए ।
घाईतेमध्ये अशोदा, पार्वती र निशाको टाउको र ढाडमा गम्भीर चोट लागेको छ । उनीहरुलाई उपचारका लागि तत्कालै लहानस्थित रामकुमार शारदा उमाप्रसाद स्मारक अस्पतालमा लगिएको थियो ।
तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि राति नै विराटनगरस्थित न्युरो हस्पिटल लगिएको रेडियो समग्रका अध्यक्ष सुनिल साहले जानकारी दिए ।
ठक्कर दिने स्कुटी इलाका प्रहरी कार्यालय लहानले नियन्त्रणमा लिएको छ ।
स्कुटी चलाउने युवा फरार भएका छन् ।
युवाले मदिरा सेवन गरी युवतीलाई जानेर ठोकेको प्रत्यक्षदर्शी वैजनाथ यादवले बताए ।
सबै घाइते लहानबाट प्रसारित रेडियो समग्र १०७ मेगाहर्जमा कार्यरत छन् ।















प्रतिक्रिया