– मिना बुढाथोकी
सल्यान, १० माघ । खुला दिसामुक्त जिल्ला घोषणा भई पुर्ण सरसफाईको क्षेत्रमा अगाडी बढी रहेको बेला सल्यानको एक सरकारी कार्यालय नै शौचालयविहिन अवस्थामा रहेको छ । स्थानिय स्तरमा नै जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको स्वास्थ्य चौकी नै शौचालयविहिन अवस्थामा रहेको हो ।
जिल्लाको छत्रेश्वरी गाउपालिका–४ कोर्बाङ झिम्पेमा रहेको स्वास्थ्य चौकी शौचालयविहिन अवस्थामा रहेको छ । स्वास्थ्य चौकीमा शौचालय नहुँदा दिसा पिसाव लागेमा समस्या हुने गरेको स्थानीय चित्र बहादुर केसीले बताए । ‘स्वास्थ्य चौकीमा शौचालय छैन, बिरामी भएर वा कुनै काम विशेषले स्वास्थ्य चौकी सम्म आएको समयमा दिसा पिसाव लाग्यो भने कि त घरतिर जानु पर्छ, कि त खुल्लामा वा झाडी जस्ता विकल्प खोज्नु पर्छ’, उनले भने ।
उनले स्वास्थ्य चौकी जस्तो संवेदनशील ठाँउमा शौचालय नहुँदा उपचार गर्न आएका बालबालिका तथा बृद्धबृद्धाहरुलाई झन समस्या हुने गरेको बताए । रेडियो राप्ती एफ.एम. १०४.८ मेगाहर्ज सल्यानले स्वास्थ्य चौकी कोर्बाङ झिम्पेमा आयोजना गरेको स्वास्थ्यका लागी रेडियो बहस कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा सहभागीहरुले तत्काल बर्थिङ सेन्टर सञ्चालन गर्नु पर्ने, स्वास्थ्य चौकी वरपर घेरबारको ब्यबस्था गर्न पनि माग गरेका थिए । कार्यक्रममा बोल्दै स्वास्थ्य चौकी ईन्चार्ज रामसिङ चौधरीले स्वास्थ्य चौकीमा शौचालय नभएको स्वीकार गरे । ‘यहाँ शौचालय छैन, शौच गर्न मन लागेमा छिमेकी कहाँ जान्छौँ’, उनले भने ।
यस्तै क्षत्रेश्वरी स्वास्थ्य शाखा संयोजक अम्बर कुमार शर्माले स्वास्थ्यको क्षेत्रमा नागरिकलाई कुनै पनि समस्या नहोस् भनेर आफु सधैँ प्रतिबद्ध रहेको बताए । साथै उनले स्वास्थ्य संस्थाहरुमा औषधी लगाएतको अभाव हुन नदिने उद्घोष गरे ।
कार्यक्रममा बोल्दै छत्रेश्वरी गाउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नेबबहादुर खड्काले अबको २ महिना भित्रै स्वास्थ्य चौकी झिम्पेमा शौचालय निर्माण गर्ने प्रतिबद्धता जनाए । उनले तत्काल झिम्पेमा बर्थिङ सेन्टर सञ्चालन गर्ने, स्वास्थ्य चौकी वरपर तारजालीको ब्यवस्था गर्न प्रक्रिया अगाडी बढाउने उद्घोष गरे ।












प्रतिक्रिया