–टेकराज भण्डारी
अछाम, १० माघ । अछाम सहित प्रदेश नम्बर ७ का विभिन्न जिल्लाहरुमा पानी परेपछि किसान खुसी भएका छन् । गत असोज महिनापछि पानी नपरेको यस क्षेत्रमा पश्चिमी बायुको कारण मंगलबार रातिदेखि पानी परिरहेको छ । पानीसँगै उच्च लेकाली क्षेत्रमा हिमपात समेत परेको छ ।
अछाम, बाजुरा, डोटी, डडेलधुरा, बझाङ, बैतडी, दार्चुला लगायतका क्षेत्रमा पानी संगै उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो । यस क्षेत्रका पाखो बारीमा लगाएका सबै खेतीपाती पानी नपर्दा सुकिसकेका र सुक्ने अवस्थामा पुगेका थिए । हिँउदे बाली गहुँ, जौ, मसुरो, तोरी लगायत तरकारी खेतीमा समत पानीले फाईदा पुग्ने जिल्ला कृषि विकास कार्यालय अछामका बरिष्ठ कृषि विकास अधिकृत बिष्णुहरी देवकोटाले बताए । ‘गहुँ छरेपछि पहिलो पटक पानी परेको छ । केही समय पहिले परेको भए अझै राम्रो हुने थियो’ कृषि विकास अधिकृत देबकोटाले भने, ‘ढिलै भएपनि पानी पर्दा यसले हिउँदे बालीलाई राम्रो नै गर्छ ।’
‘बारीको गहुँ, जौ लगायतका बाली सुक्ने अवस्थामा पुगेका थिए’ अछाम कमलबजार नगरपालिका वडा नम्बर ७ का किसान खडकराज जैसीले भने, ‘पानी परेपछि ठुलोे राहत मिलेको छ ।’ अघिल्लो बर्ष पनि हिँउदमा बर्षा नभएपछि विभिन्न बालीको बीउ समेत जोगाउन कठिन परेको भन्दै यो बर्ष पनि पानी नपर्दा बीउ जोगाउन कठिन हुने भन्दै किसान चिन्तित भएका छन् । पानी परेपछि किसान खुसी भएका छन् भने थोरै भएपनि उत्पादन हुने अपेक्षा राखेका छन् ।
पानीसँगै जिल्लाका विभिन्न उच्च क्षेत्रमा हिमपात भएपछि हिँउ हेरेर तथा खेलेर रमाईलो समेत गरेका छन् । जिल्लाका बिनायक, कमलबजार, ठुलासैन, रामारोशन, ढकारी, चौखुट्टे, मेल्लेख लगायतका क्षेत्रमा हिँउ परेको थियो । सदरमुकाम मंगलसैन नजिकै रहेको ठुलासैनमा हिँउ खेल्न तथा हेर्न कर्मचारी, व्यापारी, विद्यार्थी, सर्बसाधारण ओईरिएका थिए ।
हिँउ परेकाले विद्यार्थीलाई घुमाउन ठुलासैन ल्याएको र पानी र हिउँबारे विज्ञानमा पढाई हुने भएकाले यसले पढाईलाई प्रयोगाशतमक समेत बनाउने विद्यार्थीसँगै ठुलासैन पुगेका दिपशिखा बोर्डिङ स्कुलका शिक्षक सुनिल भण्डारीले बताए ।













प्रतिक्रिया