
बाजुरा, ८ माघ । त्रिवेणी नगरपालिकामा पहिलो पटक जिप सेवा सञ्चालनमा आएको छ । ग्रामिण पहुँच तेस्रो चरण कार्यक्रमअन्तर्गत निर्माण गरिएको सडकमा पहिलो पटक जिप सेवा सञ्चालनमा आएको त्रिवेणी नगरपालिकाले बताएको छ ।
मौरे–कैलासमाण्डौ ११.३ किमि र मौरे–तोली–छतारा १६.६ किलोमिटर सडक बाटोको निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै जिपसेवा पनि गाउँमा पुगेको छ । गाउँमा जिप सेवा सञ्चालनमा आएपछि स्थानीय खुसी भएका छन् ।
बुढीगंगा नदीले वारीपारी सहज यात्रा गर्न कठिने हुने भएपनि त्रिवेणी नगरपालिका क्षेत्रका अधिकांश वडामा सडक विस्तारले खुसी बनाएको नगरप्रमुख रामसिंह रावलले बताए । गाउँमा जिप पुगेपछि स्थानीयले भव्य स्वागत गरेका छन् ।
कैलासमाण्डौँको डाँडा र छताराको सिम्लामा पहिलो पटक ७ वटा जिप पुगेका छन् भने १५ बढी मोटर साइकल पुुुगेका थिए । गाउँमा पुगेका सवारी साधनलाई नगरप्रमुख उपप्रमुख, वडा अध्यक्ष सहीतका सरोकारवाला निकायले भव्य स्वागत गरेका थिए ।
गाउँमा गाडी, जीवन स्तरमा सुधार
करिब २७ किलोमिटर निर्माण कार्यमा साविक तीन वटा गाविसका ९६ समूहका १ हजार ८२४ परिवार सहभागि भएका थिए । उनीहरुले ज्यालावापत ४० करोड ८७ लाख १६ हजार आर्थिक आम्दानी पनि गरेको ग्रामिण पहुँच तेस्रो चरणका रमेश न्यौपानेले बताए ।
उक्त रकममध्ये १ करोड ५४ लाख ८१ हजार बचत गरी ७१ लाख ६६ हजार बराबरको आयआर्जनका काममा लगानी गरेको बताईएको छ । परियोजनाले समूह सदस्य आबद्ध भएका उत्पादन समूहलाई लेखा व्यवस्थापन तालिम, आवश्यक सामाग्री सहयोग, बजार प्रणाली विकास, व्यवसायिक सेवाप्रदायक सहयोग, गैर कृषि आयआर्जन, आर्थिक विकास पुर्वाधार निर्माण (गोरेटो बाटो, सिंचाई संरचना, प्रशोधन तथा बजार संरचना, नविकरणीय उर्जा र झलुङ्गे पुल)मा सहयोग र सहकारी क्षमता अभिबृद्धिमा सहयोग पु-याएको छ ।
परियोजना अन्र्तगत समुहमा आवद्ध भै कमाएको ज्यालाबाट गाडी किनेर सञ्चालन गर्ने गरेको महेश थापाले बताए । थापाले ४ लाख ३५ हजार आम्दानी गरेका थिए । त्रिवेणी नगरपालिका ७ का ४५ बर्षका दिलबहादुर ऐंडीले कमाएको ४ लाख ५० हजार व्यापारमा लगानी गरी हाल मासिक ६० हजार बराबरको कारोबार गर्ने गरेका छन् ।
यस्तै त्रिवेणी ८ भगवती समुहमा आवद्ध भएर काम गर्दै आएकी देवादेवी थापाले छोरी प्रेरणा थापालाई स्टाफ नर्स पढाएकी छिन् । ग्रामीण पहुँच कार्यक्रमले रोजगारी, सिप, आयआर्जन र सडक दिएर त्रिवेणी नगरपालिकामा सामाजिक तथा आर्थिक परिवर्तन गर्न सरहानीय कार्य गरेको बताएका छन् ।
नेपाल सरकार र बेलायत सरकारको अन्तराष्ट्रिय विकास मन्त्रालय (डिएफआईडी) बिच ग्रामीण पहुँच कार्यक्रम तेश्रो चरण १४ वटा जिल्लाहरु सञ्चालन गरिएको थियो । ग्रामीण पहुँच कार्यक्रमले २७.७ कि.मि. सडक निर्माण, ५७ किमि मर्मत गरेको छ । भने आयआर्जनमा पनि ठूलो सहयोग पु-याएको छ ।












प्रतिक्रिया