२२ कार्तिक २०८३, आइतबार

प्रदेशसभाको पहिलो अधिवेशन माघ २१ गते

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, ७ माघ । प्रदेश नम्बर २ का प्रदेशसभा सदस्यको सपथ ग्रहण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

जनकपुरधामको उद्योग वाणिज्य संघको राजर्षि सभागृहमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले ७६ वर्षीय ज्येष्ठ प्रदेशसभा सदस्य लगनलाल चौधरीलाई पद तथा गोपनीयताको सपथ गराएका थिए भने चौधरीले अन्य प्रदेशसभा सदस्यलाई शपथ गराए ।

प्रदेश प्रमुखबाट शपथ ग्रहण आआफ्नो मातृभाषा गर्ने तर लिखित रूपमा नेपाली भाषामा शपथ ग्रहणपत्र बुझाउने निर्देशन भएपछि प्रदेशसभा सदस्यले सोको विरोध गर्दै आआफ्नो मातृभाषामा लेखन र वाचन गर्न माग गरेका थिए । कार्यक्रममा विवाद बढ्दै गएपछि प्रदेश प्रमुखले सो निर्देशनलाई सच्याउँदै आआफ्नो मातृभाषामा लेखन र वाचन गर्न निर्देशन दिएपछि प्रदेशसभा सदस्यले आआफ्नो मातृभाषामा शपथ लिएका थिए ।

सो अवसरमा प्रदेश प्रमुख कायस्थले सहकार्य गरी सौहार्दपूर्ण वातावरणमा प्रदेशलाई समृद्ध बनाउनुपर्नेमा जोड दिँदै प्रदेशसभाको पहिलो अधिवेशनबाट प्रदेशसभालाई समृद्ध बनाउने अवधारणा तय गर्नु आवश्यक रहेको बताए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य, उच्च अदालतका न्यायाधीश, क्षेत्रीय सुरक्षा प्रमुख, जिल्ला समन्वय समितिका सभापति, जिल्ला न्यायाधीश, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि र कार्यालय प्रमुखको उपस्थिति थियो ।
प्रदेश नम्बर २ को प्रदेशसभाको पहिलो अधिवेशन यही माघ २१ गते हुने भएको छ । जनकपुरधामको शैक्षिक तालिम केन्द्रको सभागृहमा बिहान ११ बजे अधिवेशनको मिति तोकिएको छ । –रासस