
बागलुङ, १९ मंसिर । प्रस्तावित बुर्तिवाङ अस्पतालमा स्तरोन्नतिको पाँच वर्षपछि अत्याधुनिक प्रविधि जडान गरी उपचार सुरु गरिएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रबाट स्तरोन्नति भएर जिल्ला अस्पताल भएको पाँच वर्षपछि एक्स–रे, अल्ट्रासाउन्ड लगायतका उपकरणको व्यवस्था गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय बागलुङको अगुवाइमा अत्याधुनिक उपकरणसहित दक्ष जनशक्तिको व्यवस्थापन गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले बताउनुभयो ।
बागलुङ सदरमुकाममा रहेको जिल्ला अस्पताललाई अञ्चल अस्पतालका रुपमा स्तरोन्नति गरेपछि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्ला अस्पतालका रुपमा प्रस्तावित गरिएको थियो ।
स्वास्थ्य केन्द्रलाई जिल्ला अस्पतालका रुपमा विकसित गरी सेवा विस्तार गरेपछि सामान्य उपचारका लागि सदरमुकाम धाउनुपर्ने स्थानीयको बाध्यता हटेको छ ।
अस्पतालमा अहिले दैनिक एक सयजनाको हाराहारीमा बिरामी आउने गरेको बुर्तिवाङ अस्पतालका प्रमुख डा सिजन भट्टचनले बताउनुभयो ।
कनकाई युएस संयुक्त निर्माण कम्पनीले रु पाँच करोड ९९ लाखको लागतमा तीनतले भवन निर्माण गरी गत जेठमा अस्पताललाई हस्तान्तरण गरेको थियो ।
“नवनिर्मित तीनतले भवनमा जनरल वार्ड, ओपिडी तथा आइसियु कक्षसमेत राखिएको छ”–प्रमुख डा भट्टचनले भन्नुभयो–“अब अस्पताल आउने बिरामीलाई सन्तोषजनक सेवा दिन सक्नेछौँ ।” विगतमा भाडाको घरमा रहेर सेवा दिँदा निकै कष्ट व्यहोर्नुपरेको उहाँले बताउनुभयो ।
सामान्य उपचारका लागिसमेत सदमुकाम धाउन बाध्य स्थानीय गाँउमै जिल्ला अस्पतालको सेवा पाउन थालेपछि हर्षित बनेका छन् ।
“सामान्य उपचारका लागि पनि हजारौँ खर्च गरेर सदरमुकाम जानुपथ्र्याे”–स्थानीय राम सुवेदीले भन्नुभयो–“अहिले त बुर्तिवाङमै स्तरीयसेवा पाउन थालेका छाँै ।”















प्रतिक्रिया