नेपालगञ्ज, ६ माघ । चिट्ठा परेको भनी झुक्याएर ठगी गर्ने गिरोहलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न जिल्लाका सर्वसाधारणलाई पाकिस्तानी नम्बरबाट फोन गर्ने, भाइबर, ह्वाट एपमा म्यासेज पठाउने, भ्वाइस कल गरी २५ लाख रुपैयाँ चिठ्ठा परेको छ भनी झुक्याएर ठगी गर्ने, कार, गाडी पुरस्कार परेको भन्दै रकम माग्नेको पहिचान गरी पक्राउ गरिएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अर्यालले जानकारी दिए ।
उनले झुक्याएर रकम ठगी गर्ने भारत लखनऊका २२ वर्षका अब्बु सैयफ खान, नेपालगंज उपमहानगरपालिका– ५ का २२ वर्षका अकिव इद्रिसी, नेपालगंज उपमहानगरपालिका– ६ का १९ वर्षका मोहम्मद फाहद हलुवाई र नेपालगंज उपमहानगरपालिका– ५ का २१ वर्षका अमीरबाबु कसगरलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको बताए ।
उनले अन्यत्रबाट पनि उजुरी आउने क्रम जारी रहेकाले थप अनुसन्धान भइरहेको जानकारी दिए । पक्राउ परेकाहरूले विगत एक महिनादेखि मुगु घर भई काठमाडौं बस्दै आएका सुमन सुनार र कपिलवस्तु वाणगंगाका गणेश घिमिरेसँग पाँच लाख १० हजार रुपैयाँ लिइसकेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । यीबाहेक उनीहरूले अन्य व्यक्तिलाई पनि ठगी गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया