उर्लाबारी, १८ मंसिर । मोरङको लेटाङ–कानेपोखरी सडक खण्डमा बिहीबार बिहान बा१०च ५५५१ नम्बरको सेन्ट्रो कार दुर्घटनाग्रस्त हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
दक्षिणबाट उत्तरतर्फ गइरहेको उक्त कार लेटाङ–९ मा अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा लेटाङ–२ निवासी ५५ वर्षीया नरमाया श्रेष्ठको मृत्यु भएको हो ।
दुर्घटनापछि गम्भीर घाइते भएकी श्रेष्ठको पथरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा घाइते भएकी विराटनगर–१५ निवासी ६२ वर्षीया पदममाया श्रेष्ठको विराटनगरस्थित गोल्डेन अस्पतालमा र विराटनगर–५ निवासी २० वर्षीया मिना नेपाली र उनको दुई वर्षीय छोरा विज्ञान नेपालीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
त्यसैगरी काठमाडाँैबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना४ ख ५८६६ नम्बरको रात्रिबसले दाङखण्डको लालमटिया–३ मा एकजना पैदलयात्रुलाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा कालिका गाविस–४ बर्दियाका ३५ वर्षीय दिलबहादुर बस्याल रहेका छन् । गएराति करिब १ बजे बसको ठक्करबाट बस्यालको मृत्यु भएपछि स्थानीयवासीले केहीबेर पूर्व–पश्चिम सडकखण्ड अवरुद्धसमेत पारेका थिए ।
घटनामा संलग्न गाडी र चालकलाई इलाका प्रहरी कार्यालय लमहीले गएराति नै नियन्त्रणमा लिएपछि भने अवरुद्ध बाटो सुचारु भएको थियो ।
मृतकको शव परीक्षणमा लागि प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा राखिएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया