२२ कार्तिक २०८३, आइतबार

जेहेन्दार विद्यार्थीका लागि मेयर पौडेलले स्थापना गरे अक्षय कोष

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिमरा (बारा), ३० पुस । जीतपुर सिमराका नगर प्रमुख डा. कृष्ण पौडेलले आफूले अध्ययन र अध्यापन गरेको डुमरवानास्थित विद्यालयमा प्रथम मेयर छात्रवृति अक्षय कोषको घोषणा गरेका छन् ।

डुमरवानास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको ५४ औँ वार्षिकोत्सव समापन समारोहमा मन्तव्य राख्ने क्रममा नगर प्रमुख डा. पौडेलले एक लाख एघार हजार एक सय ११ रुपैयाँको प्रथम मेयर छात्रवृत्ति अक्षय कोषको घोषणा गरेका हुन् । कोषको सुरुवात गर्दै नगर प्रमुख डा. पौडेलले व्यक्तिगत रुपमा सो रकम दिने घोषणा गरेका हुन् ।

नगर प्रमुख डा. पौडेलले प्राथमिक शिक्षा सोही विद्यालयबाट सुरु गरेका थिए । सो विद्यालयमा कक्षा ३ बाट अध्ययन सुरु गरेका नगर प्रमुखले सोही विद्यालयबाट प्रवेशिका उत्तिर्ण गरेका थिए । प्रविणता तह उत्तिर्ण गरेपछि नगर प्रमुख डा. पौडेलले सोही विद्यालय प्राथमिक तहबाट सुरु गर्दै उच्च माध्यमिक तहसम्म अध्यापन गराएका थिए ।

शिक्षण पेशाबाट राजिनामा दिँदै सहकारी क्षेत्रमा प्रवेश गरेर सहकारी अभियन्ता रुपमा स्थापित हुन सफल नगर प्रमुख डा. पौडेलले आफैँ अध्ययन र अध्यापन गरेको विद्यालयको प्राविधिक तथा कक्षा ११ र १२ मा अध्ययन गर्ने जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका निम्ति अक्षय कोषको सुरुवात गरेको बताए ।

‘मैले यसै विद्यालयबाट ज्ञान हासिल गरे । यहीबाट पाएको शिक्षाको जगमा आज यस स्थानमा आएको छु’ नगर प्रमुख डा. पौडेलले भने, ‘यस विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका सहयोगको सुरुवात गरेको छु । यसमा सहभागी हुन सबैलाई अपिल गर्दछु ।’

नगर प्रमुख डा. पौडेलले सामुदायिक शिक्षाको गुणस्तर सुधारका निम्ति उपमहानगर गम्भीरताका साथ अघि बढिरहेको बताए । डा. पौडेलले सामुदायिक र निजि विद्यालयको शैक्षिक स्तरमा कुनै भिन्नता नआउने गरी शिक्षा प्रदान गर्नका निम्ति आफूले सामुदायिक विद्यालयका प्रध्यानाध्यापक र शिक्षकलाई निर्देशन समेत दिईसकेको बताए । ‘सामुदायिक शिक्षाको गुणस्तर सुधारका लागि गम्भीर हुन प्रधानाध्यापकहरुलाई आग्रह अन्यथा विकल्प दिन आग्रह गरेको छु’, नगर प्रमुख डा. पौडेलले भने ।

शिक्षा र रोजगारीका लागि विदेश जानुपर्ने स्थिती अन्त्यका लागि पनि शैक्षिक स्तरको सुधार हुनुपर्ने र दक्ष जनशक्ति उत्पादनमा गम्भीर हुनुपर्ने डा. पौडेलको भनाई थियो । जिल्लाको अग्रणी र सफल विद्यालयको रुपमा स्थापित रहेपनि पछिल्ला वर्ष आफूले अध्ययन गरेको विद्यालयको शैक्षिक गुणस्तर खस्किएकोमा डा. पौडेलले चिन्ता व्यक्त गरे । उनले शिक्षक, अभिभावक र सरोकारवालाहरुलाई विद्यालयको शैक्षिक स्तर सुधारका निम्ति गम्भीर हुन आग्रह समेत गरेका छन् ।