भक्तपुर, २९ पुस । सूर्यविनायक नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयको पठनपाठन अनिवार्य रुपमा अंग्रेजी माध्यमबाट सञ्चालन गर्ने भएको छ ।
शुक्रबार साँझ नगरप्रमुख वासुदेव थापाको अध्यक्षतामा सम्पन्न दोस्रो नगरसभाले सो निर्णय गरेको हो । नगरसभापछि नगरप्रमुख थापाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा बृद्धि गर्न आगामी शैक्षिक सत्रदेखि नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयको पठनपाठन अंग्रेजी माध्यमबाट गर्ने गराउने निर्णय भएको बताए ।
उनले भने, ‘शैक्षिक सत्र २०७५ देखि नगरभित्रका सबै सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकास केन्द्रदेखि कक्षा ३ सम्म अनिवार्यरुपमा अंग्रजी माध्यमबाट पठनपाठन गराउने व्यवस्था गरिने छ । नगरपालिकाले आगामी शैक्षिक सत्र २०७८ सम्ममा कक्षा १२ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गराउन शुरु गर्नेछ ।’
नगरसभाले भवन निर्माण मापदण्ड, सडकको क्षेत्राधिकारसहितको आधारभूत निर्माण मापदण्ड २०७२ र शहरी वातावरण व्यवस्थापन गर्न नगर प्रहरी सञ्चालन गर्ने निर्णय पनि गरेको नगरपालिकाका प्रवक्ता उपेन्द्र केसीले जानकारी दिए ।
नगरपालिकाले उपप्रमुख जुना बस्नेतको संयोजकत्वमा विनय महत र राजु लोबन्जार रहेको न्यायिक समिति गठन गरेको छ । खेलकुदको विकास र विपद् व्यवस्थापन गर्न अनुदान तथा आर्थिक सहायता निर्देशिका पारित गरिएको छ ।
त्यस्तै निर्माण व्यवसाय नियमन, बजार अनुगमन, सरसफाइ तथा फोहरमैला व्यवस्थापन, नगर योजना तथा कार्यसञ्चालन, विज्ञापन कर, व्यवसाय कर र पूर्वप्राथमिक विद्यालय व्यवस्थापन निर्देशिका तथा जग्गा चक्लाबन्दीसम्बन्धी कार्यविधि पारित गरेको छ । त्यस्तै सहकारी विधेयक २०७४, कृषि व्यवसाय प्रबर्द्धन विधेयक २०७४ र शिक्षा नियमावली २०७४ समेत पारित गरिएको छ ।
नगरकोटमा दृश्यावलोकन स्तम्भ
चाँगुनारायण नगरपालिकाले नगरकोटमा एक अर्ब ५० करोड रुपैयाँको लागतमा नगरकोट दृश्यावलोकन स्तम्भ निर्माण गर्ने भएको छ ।
नगर प्रमुख सोमप्रसाद मिश्रको अध्यक्षतामा शुक्रबार नै बसेको दोस्रो नगरसभाले भूकम्पपीडितको घर पुनःनिर्माण व्यवस्थित गर्ने, नगरभित्र सञ्चालित उद्योग तथा व्यवसायलाई करको दायरामा ल्याउने, खानेपानीको व्यवस्थापन गर्ने र प्रत्येक घरको सम्पूर्ण तथ्यांक संकलन गर्ने निर्णय गरेको छ । –रासस












प्रतिक्रिया