अछाम, २५ पुस । जिल्लाको प्रमुख व्यापारिक केन्द्र साफेबगरमा प्रथम अछाम महोत्सव सञ्चालन गरिने भएको छ । अछाम उद्योग बाणिज्य संघको आयोजनामा आउदो फागुन २ देखि १० गतेसम्म महोत्सव गरिने भएको हो ।
स्थानीय उत्पादन, कृषि, औधोगिक, सास्कृतिक एवम् पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ उद्योग बाणिज्य संघ अछामले तयारी थालेको छ । संघले मंगलबार जिल्लास्थित सरोकारवालासँग अन्तरक्रिया गरि यसबारे सुझाव पनि लिएको छ । अन्तरक्रियामा सहभागी सरोकारवालाले महोत्सव सफल पार्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा अछामका सहायक प्रमुख जिल्ला अधिकारी तुलबहादुर काउचाले अछाम जिल्लाको कृषि, पर्यटन, स्थानीय उत्पादन, औधोगिक तथा साँस्कृतिक क्षेत्रको प्रचार प्रसारमा लागी महोत्सवले निकै टेवा पु-याउने बताए । यसले जिल्लामा नै सकारात्मक अभियान फैलाउने भएकाले सफल पार्न सबैलाई आ–आफनो तर्फबाट सहयोग गर्न उनले आग्रह गरे ।
निमित्त स्थानिय विकास अधिकारी लालबहादुर बिष्ट, नेकपा एमालेका जिल्ला सदस्य शिलोज कुवर, माओवादी केन्द्रका केन्द्रीय सदस्य बमबहादुर रावत, अछामका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेलगायतले महोत्सवलाई सफल पार्नका लागि सबै स्थानीय तहसँग पनि सहकार्य गर्न सुझाव दिएका थिए ।
जिल्लाको सबै क्षेत्रको सहभागिता गराई समग्र पहिचान झल्काउने गरि महोत्सव गर्न र सो अनुसारको सहकार्य गर्न सरोकारवालाले सुझाव दिएका थिए । महोत्सवमा स्थानिय उत्पादनको प्रदर्शनी, पर्यटन प्रबद्र्धन, कला संस्कृतिको जगेर्ना, व्यापार र औद्योगिक मेला सञ्चालन गर्ने तथा विभिन्न स्टलहरु राखिने अछाम उद्योग बाणिज्य संघले जनाएको छ ।












प्रतिक्रिया