काठमाडौँ, १६ मंसिर । नेपाल प्रेस युनियनका केन्द्रीय समितिका सचिव सूर्य कुमार क्षेत्रीको ब्रेन ट्युमरको शल्यक्रिया बुधवार हुने भएको छ ।
अचानक विरामी भएरपछि अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा भर्ना हुनुभएका क्षेत्रीको स्वास्थ्य परिक्षणका क्रममा ब्रेन ट्युमरको पहिचान भएको उहाँको उपचारमा संलग्न बरिष्ठ स्नायुरोग विशेषज्ञ डा. वसन्त पन्तले जानकारी दिनुभएको थियो ।
‘डा. पन्त सहितको चिकित्सक टोलीले क्षेत्रीको बुधवार नै ब्रेन ट्युमरको शल्यक्रिया गर्ने अस्पताल प्रशासनले जानकारी दिएको छ,’ नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्षेत्री अस्पताल भर्ना भए लगत्तै सघन उपचार कक्षमा राखेर प्रारम्भिक उपचार भएको थियो।
डा. पन्त सहितको चिकित्सक टोलीले मंगलबार बिहान थप परिक्षण गरेपछि क्षेत्रीको बुधवार शल्यक्रिया गर्ने निर्णय भएको हो।’
नेपाली काँग्रेसका महामन्त्री तथा सरकारका उपप्रधानमन्त्री एवं स्थानिय विकासमन्त्री प्रकाशमानसिंह सरकारका प्रवक्ता, सूचना तथा सञ्चारमन्त्री एवं नेपाली काँग्रेसका प्रचार विभाग प्रमुख डा. मिनेन्द्र रिजाल, नेपाली काँग्रेसका सहमहामन्त्री पूर्ण बहादुर खड्का मंगलबार नै अस्पताल पुगेर क्षेत्रीको अवस्थाका बारेमा जानकारी लिनुभएको छ।
नेपाल प्रेस युनियन केन्द्रीय समितिका सचिव क्षेत्रीको अवस्था बुझ्न र स्वास्थ्य लाभको कामना गर्न नेपाल प्रेस युनियन केन्द्रीय समितिका अध्यक्ष बद्री सिग्देल सहित, पदाधिकारीहरु, कार्यसमितिका सदस्यहरु र प्रेस युनियनका सल्लाहकारहरु, युनियनका सदस्य तथा शुभेच्छुकहरु अन्नपूर्ण न्यूरो अस्पताल माइतीघर पुगेका थिए ।
विभिन्न सञ्चार गृहका सञ्चारकर्मीहरु, कलाकार एवं गायकहरु र क्षेत्रीका आफन्त र शुभेच्छुकहरु पनि अस्पतालमा पुगेका थिए ।
मंगलवार नै बसेको नेपाल प्रेस युनियनको काठमाडौंमा उपलव्ध केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरुको वैठकले क्षेत्रीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
‘क्षेत्रीको उपचारमा सहयोग पुर्याउन नेपाल प्रेस युनियनले आफ्ना तर्फबाट तत्काल ५० हजार रुपैयाँ दिएको छ। साथै क्षेत्रीको उपचारमा कुनै कसर वाँकी नराख्ने युनियनले निर्णय गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ।















प्रतिक्रिया