ब्रेमेन । जर्मनी निवासी नेपाली समुदायले ब्रेमेन सहरमा अँग्रेजी नयाँ वर्ष सन् २०१८ लाई भव्य रुपमा स्वागत गरेका छन् ।
सन् २०१७ लाई बिदाइ गर्दै २०१८ को विश्वभर स्वागत भैरहँदा नेपाली समुदाय पनि नयाँ वर्षको कार्यक्रममा झुम्यो । पछिल्लो समय नेपालमा समेत विदेशी संस्कृति अंगाल्ने क्रममा केही वर्ष यता अंग्रेजी क्यालेण्डर अनुसारको नयाँ वर्षको रौनक निकै बढ्दै जाँदा विदेशमा रहेका नेपालीका लागि झनै रौनक नथपिने कुरै भएन ।
नेपाल परिवार नामक संस्थाको प्रायोजन तथा अन्तर्राष्ट्रिय कलाकार मंच जर्मनी शाखा र इजी ब्याण्डको संयुक्त आयोजनामा भएको कार्यक्रममा एक सय भन्दा बढि नेपालीहरू सहभागी भएका थिए ।
डिसेम्बर ३१ तारिख साँझबाट सुरु भएको कार्यक्रम भोलिपल्ट बिहानसम्म चलेको थियो । नेपाली खानाको परिकारसँगै सुरु कार्यक्रममा इजी ब्याण्ड, स्थानीय कलाकार र ब्रेमेनस्थित याकोव विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको भव्य प्रस्तुति रहेको थियो ।
पुकार भट्टराई, अनन्त भट्टराई लगायतको विद्यार्थीको समूहले लार्इभ म्युजिक सहितको प्रस्तुति दिएर सुरुमा भिडलाई तताएको थियो ।
इजी ब्याण्डका तर्फबाट ध्रुब शाक्य, रबी श्रेष्ठ लण्डनदेखि आएका खगेन लिम्बु, कलाकार लक्ष्मण जोशी, दिनेश केसी, मिलन राई लगायतले विभिन्न सांगितिक प्रस्तुति दिएका थिए ।
नेदरल्याण्डबाट आएकी गायिका विमला श्रेष्ठ, ब्रेमेन निवासी पार्वती गुरुङ लगायत स्थानीय कलाकारको कर्णप्रीय स्वरमा सांगीतिक कोशेली प्रस्तुत गरेसँगै भिड संगीतमय भएको थियो ।
अन्तर्राष्ट्रिय कलाकार मंच जर्मनी शाखाकी सदस्य एबं कलाकार सगुन हुमागाईंले नृत्य गरेसँगै उपस्थित भिडसँगै नृत्यमा झुम्न पुगेको थियो ।















प्रतिक्रिया