भैरहवा (रुपन्देही), १९ पुस । आगमी पुस २१ गतेदेखि सिद्धार्थनगर नगरपालिका खुल्ला दिसामुक्त नगर घोषणा हुने भएको छ । सिद्धार्थनगरका १३ वटै वडाका सबै घरधुरीले शौचालय निर्माण गरिसकेकोले औपचारिक रुपमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न लागिएको नगरपालिकाले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख हरिप्रसाद अधिकारीले खुल्ला दिसामुक्त नगर घोषणाको लागी २१ गते भैरहवामा -याली समेत आयोजना गरिने बताए । उनले भने, ‘पर्यटकीय नगर सिद्धार्थनगरलाई खुल्ला दिसामुक्त गर्न पाउनु हामी सबैको लागी गौरवको विषय हो ।’ २०६९ सालदेखि खुल्ला दिसामुक्त सम्बन्धी कार्यक्रम शुरु भएको सिद्धार्थनगरमा नगरलाई खुल्ला दिसामुक्त गराउन करिव ८० लाख खर्च भएको बताइएको छ ।
पत्रकार सम्मेलनमा उपमेयर उमा काफ्ले, प्रमुख कार्यकारी अधिकृत यमबहादुर कुँवरलगायतले नगरपालिकाको विकासका कार्यक्रमका बारेमा पनि भनाई राखेका थिए । रुपन्देही जिल्लाको सदरमुकाम समेत रहेको सिद्धार्थनगरमा १३ वडा मध्ये २०७१ असार १९ गते वडा नम्बर ७ पहिलो खुल्ला दिसामुक्त वडा घोषणा भएको थियो ।












प्रतिक्रिया