काठमाडौं, १९ पुस । दोलखाकी पत्रकार नीता राउत क्षेत्रीले मृगौला पीडितलाई उपचार खर्च सहयोग गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सहयोग संकलन अभियान चलाउँदै राउतले पीडित परिवारलाई संकलित रकम हस्तान्तरण गरेकी हुन् ।
दोलखाको तामाकोशी गाउँपालिका वडा नं २ झुले निवासी केदार कार्की केही समयदेखि दुवै मृगौला खराब भएपछि काठमाडौंमा उपचाररत छन् । आर्थिक अवस्था निकै कमजोर रहेका कार्कीले उपचार गर्न सक्ने अवस्था आएपछि पत्रकार राउत फेसबुकमार्फत सहयोग संकलनमा जुटेकी छन् ।
अस्पतालमा उपचार गराइरहेका कार्कीको तस्विरसहित राउतले फेसबुकमा तस्वीर पोष्ट गर्दै सहयोगको अपिल गरेपछि दाताहरुले सहयोग गरिरहेका छन्। हालसम्म संकलित सहयोग रकम काठमाडौंस्थित अस्पतालमै पुगेर नीताले कार्कीकी श्रीमती सितादेवीलाई हस्तान्तरण गरेकी छन्।
४६ बर्षीय कार्की दुवै मृगौला फेल भई हाल काठमाडौंको पुतली सडकस्थित भ्याली हस्पिटलमा उपचाररत छन । उनको उपचारमा निकै खर्च लाग्ने अस्पतालले बताएको छ । यसैलाई मध्यनजर गर्दै नीताले पहिलो चरणमा संकलन भएका १ लाख २ हजार १ सय २४ रुपैया उपचारको लागि हस्तान्तरण गरेकी हुन ।
चरिकोटस्थित कालिञ्चोक एफएममा कार्यरत पत्रकार राउतले केही समय अघिबाट यो अभियान चलाएकी हुन । आर्थिक अवस्था निकै कमजोर छ, हामीले सहयाग नगरे कस्ले गर्छ भन्ने सोचेर फेसबुक अभियानबाट रकम संकलन गरी हस्तान्तरण गरेको राउतले बताइन ।
समाचारको खेतीसँगै समय निकालेर केदार कार्की बचाउ अभियान चलाएकी नीताले उपचारको सवै खर्च जुटाउने योजना बनाएकी छन । आर्थिक अभावमा कार्कीको ज्यान नगुमोस भन्नका आफूले अभियान चलाएको उनले बताइन ।













प्रतिक्रिया