गाईघाट (उदयपुर), १५ पुस । सन् २०१७ मा उदयपुरमा ६३ वटा मानवअधिकार विरुद्धका घटनाहरु घटेको एक तथ्यांकले देखाएको छ । मानवअधिकार बर्ष पुस्तक सन् २०१८ प्रकाशनको पुर्वसन्ध्यामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) उदयपुरले शनिबार आयोजना गरेको बार्षिक समीक्षा कार्यक्रममा जिल्ला प्रतिनिधि भरत खड्काले यस्तो तथ्यांक प्रस्तुत गरेका हुन् ।
घटनामध्ये सबैभन्दा बढि घरेलु हिंसाका १७ ओटा रहेका छन् । बालिकामाथि जबरजस्ती करणी पछि हत्याको घटना १, बालिकामाथि जबरजस्ती करणी १७, करणीको प्रयास ४, महिलामाथि जवरजस्ति करणी ६, करणीको प्रयास ६, बहुविवाह ७, मानव बेचबिखन ३, नाताकायम १ र बम विस्फोठका घटना १ गरी ६३ ओटा रहेका छन् । उमेदवारलाई लक्षित गरी गरिएको बम विस्फोठनबाट ७ जना घाईते भएका छन् भने उमेदवारको घरमा बम पडकाउने, कार्यक्रममा विस्फोट गराउने जस्ता गतिविधि रहेको पाइएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले इन्सेकको तथ्यांक समाजले चाहेको भन्दा बेग्लै रहेको बताए । उनले इन्सेकको बर्ष पुस्तक मानवअधिकारको उत्कृष्ट दस्तावेज भएकाले समाजले चाहेको भन्दा अलिक फरक रहेको बताए । उनले बर्ष पुस्तक मानवअधिकार सम्बन्धी गतिलो दस्तावेज भएको हुँदा यसमा समेटिने घटना सत्यतत्यमा आधारित रहनु पर्नेमा जोड दिए । प्रजिअ कँडेलले घटनाको सम्बेदनशिलतालाई हेरी अभिलेखिकरण गर्नु पर्ने बताए ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालयका एसपी नवराज भट्टले घटना बढ्नु र घटनु दुबैमा सचेतीकरणको महत्वपूर्ण हात रहेको औल्याए । कार्यक्रममा मानवअधिकार सञ्जालका अध्यक्ष भरत खड्काले घटनाको अभिलेखिकरणसँगै जिम्वेवार र जवाफदेहि बनाउन जिल्ला स्तरीय कार्यक्रमहरुको आयोजना गर्नु पर्ने बताए । उनले जिल्लामा लागुऔषध र जबरजस्ती करणीका घटनाले व्यापकता पाएकाले यसका न्युनिकरण गर्ने गरी अभियानहरु सञ्चालन गर्नु पर्ने बताए ।
नेकपा एमालेका जिल्ला सचिव परमेश्वर घिमिरेले समन्व्यको अभावमा अझै कतिपय घटनाहरु बाहिर आउन नसकेको बताए । उनले स्थानीय तहमा मेलमिलाप गराइएका घटनाको पनि अभिलेखिकरण गर्न सुझाब दिए । संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य रामप्रसाद रिजालले मुलुकमा दण्डहिनता बढ्दै गएको बताए । मधेमा भएका शान्तिपूर्ण कार्यक्रममा पनि प्रहरीले हस्तक्षेप गरी मानवअधिकारको उल्लंघन गरेको बताए ।
कार्यक्रममा सहभागि राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला निकायहरूले ग्रामीण भेगमा हुने हिंसाका घटना मिलापत्र हुने भएकाले यसलाई उजागर गर्नु पर्नेमा जोड दिए । उनीहरुले स्थानीय तहमा भएका मेलमिलापका घटनालाई पनि दस्तावेजको रुपमा लैजान सुझाव दिए । कार्यक्रम गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष महेश्वरी राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।












प्रतिक्रिया