– कृष्ण ओली
बाजुरा, ११ पुस । समाजमा बढ्दो बालविवाह रोक्न छेडेदह गाउँपालिकाका तीन वटा सामुदायिक विद्यालयले बालविवाह गरेमा सुविधा नदिने भएका छन् । छेडेदह गाउँपालिका १ र २ मा रहेका तीन वटा सामुदायिक विद्यालयले बालविवाह गर्ने जोडिलाई विद्यालयले दिने सम्पूर्ण सेवा सुविधामा रोक लगाउने बताएका छन् ।
विद्यालयले छात्राहरुले पाउने छात्रवृत्ति नदिने, विद्यालयका अतिरिक्त क्रियाकलाप, खेलकुददेखि अन्य अवसरबाट वञ्चित गराउने र अर्को बालविवाह गरी अर्को विद्यालयमा भर्ना हुन खोजेको पाईएमा प्रमाण पत्र समेत नदिने विद्यालय तयार देखिएका छन् । ती विद्यालयले जिल्लामै नयाँ अभ्यास गरेका छन् ।
जिल्लामा एक संस्थाले गरेको सर्वे अनुसार ७० प्रतिशत बालविवाह रहेको छ । यस्तै छेडेदह गाउँपालिका १ र २ काँडा र जयवागेश्वरीमा तीन वर्षको अवधीमा भएका बालविवाहको सर्भे अनुसार सत प्रतिशत बालविवाह भएको देखिएको छ । तीन वर्षको अवधीमा ३०४ वटा विवाह भएकोमा ती सबै बालविवाह सर्भेले देखाएको छ । सचेतना र शिक्षाले मात्र बालविवाह रोक्न नसकिने निष्कर्षसहित कडा निर्णय गर्न बाध्य भएको मालिका मावि गाँज्राका प्रअ राजेन्द्र बहादुर सिंहले बताए । सुविधा रोक्न काँडा भवानी मावि काँडा, मालिका मावि गाँज्रा र देवस्थली मावि माटेसाँघु जयवागेश्वरी तयार भएका छन् ।
१५ वर्षदेखि १९ वर्ष उमेर समूहका बालबालिकाले विद्यालय उमेरमै विहे गर्ने हुँदा कडापन देखाएर रोक्न प्रयास गरिएको देवस्थली मावि माटेसाँघुका विव्यस अध्यक्ष बमबहादुर शाहीले बताए । विव्यस, शिक्षक अभिभावक संघ, शिक्षक र अभिभावक सबैलाई राखेर लिखित निर्णय गरेर अघि बढ्ने लिखित सहमति भएको बमको भनाई छ ।
अशिक्षा, अज्ञाता र अन्धविश्वासले मात्र बालविवाह नभई पछिल्लो समय प्रविधिको विकास र एक अर्कोको देखासिकीबाट पनि हुने गरेको छ । विहे गर्नेमा बालिकाको संख्या बढी छ । गरिब र विपन्न समुदायमा यो क्रम बढी रहेको स्थानीय मिनबहादुर सार्कीले बताए । काँडा भवानी मावि काँडामा मात्र दुई दर्जन जोडीहरु अध्ययन गरिरहेको श्रोतको दाबी छ । यस्तै मालिका मावि र देवस्थली माविमा पनि दर्जनको संख्यामा बालविवाह गरेका जोडी अध्ययनरत छन् । विहे गरेका मध्ये अधिकांश अभिभावकको मञ्जुरविना नै विहे गरेका छन् ।
‘दिनभर बालविवाह बारे शिक्षा मुलक कार्यक्रममा सहभागि भएर राती विहे गरेका पनि थुप्रै उदारण छन्, सबै निकाय कारवाही गर्न तयार नभएसम्म बालविवाह रोकिन्न’ बाल क्लबका क्याप्टेन विक्रम बुढाले बताए । उनले थपे, ‘विद्यालयले गरेको निर्णय स्वागत योग्य छ, हामीले पनि साथ दिन्छौं, सरकारी निकायको पनि सहयोग आवश्यक हुन्छ ।’
विद्यालय व्यवस्थापन समिति र सेवा क्षेत्रका अभिभावक तयार भए निर्णय कार्यान्वन गर्न सजिलो हुने काँडा भवानी माविका निमित्त डिलराज भण्डारीले बताए । विद्यालयले सुविधा रोक्न सक्नु पर्छ र अभिभावक जिम्मेवार भई दिए बालविवाह रोकिने काँडा भवानी मावि बाल क्लबका अध्यक्ष नितेष सिंहले बताए । विद्यालयले गरेको निर्णय राजनीतिक दल, वडा र गाउँपालिका स्तरबाटै कार्यान्वनका लागि सजिलो पारिदिए बालविवाह रोक्न ठूलो सहयोग पुग्ने बाल संरक्षक शिक्षक भोविन्द्र रावतले बताए ।
कानुनी कारवाहीका लागि राज्यका निकाय तयार नभएरोक्न समस्या भईरहेको बेला विद्यालयले गरेको निर्णयले सहयोग पुग्ने देवस्थली मावि बाल संरक्षण शिक्षक कमला धामी कटुवालले बताईन् । विद्यालयको निर्णय प्रति वडा कार्यालय र सरोकारवाला निकाय पनि सकारात्मक देखिएका छन् । निर्णय कार्यान्वयनका सहयोग गर्ने छेडेदह गाउँपालिका अध्यक्ष नरबहादुर रावतले सहयोग गर्ने बताए ।
छेडेदह १ र २ वडा अध्यक्षले पनि सेवा सुविधाबाट वञ्चित गर्ने गरी वडाबाट निर्णय गर्ने बताएका छन् । उक्त अभियानलाई निरन्तरताका लागि नियमित फलोअप गर्न रेडियो बाजुराले भूमिका निर्वाह गर्ने भएको छ । सहजिकरणमा गुड नेवर्स इन्टरनेशनलले सघाएको छ ।












प्रतिक्रिया