६ कार्तिक २०८३, शुक्रबार

ढोरपाटनमा १३ नाउर र सात झारलको सिकार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Naurबागलुङ, १३ मंसिर । मुलुकको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा पहिलो मौसममा सिकारीहरुले १३ नाउर र सात झारलको सिकार गरेका छन् ।

सिकारको पहिलो मौसममा छ देशका सिकारीहरु अनुमति लिएर सिकार आरक्षमा पुगेका थिए । आरक्षका विभिन्न ब्लकमा अमेरिका, रुस, जर्मन, साउथ अफ्रिका, ल्याटभिया र नर्वेका सिकारीले सिकार गरेकोे आरक्षका संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो याममा १४ नाउर र आठ झारल सिकारका लागि वन्यजन्तु विभागले अनुमति दिए पनि जर्मनका एक सिकारी आरक्षमा नपुगेपछि मात्रा घटेको हो ।

सिकारीहरुले आरक्षमा नाउर र झारलमात्र सिकार गर्न पाउने उहाँले बताउनुभयो । सिकारका लागि विदेशी नागरिक नेपाली एजेन्सीको सम्पर्कमा आउने गरेको बताइएको छ ।

सिकारीहरुले झारल सिकार गरेबापत चार लाखदेखि न्यूनतम दुई लाख ७७ हजार र नाउर सिकारका लागि तीन लाख २५ हजारदेखि न्यूनतम दुई लाख ७१ हजारसम्म राजस्व सरकारलाई तिरेको श्रेष्ठले बताउनु भयो ।

सिकार एजेन्सीहरुको प्रतिस्पर्धाका कारण आरक्षको राजस्वमा समेत वृद्धि भएको छ । आरक्षले वार्षिक एक करोडसम्म राजस्व सङ्कलन गरेको तथ्याङ्क सार्वजनिक गरेको छ ।

सिकारका लागि दोस्रो सिजन फागुन तेस्रो हप्तादेखि वैशाख दोस्रो हप्तासम्मका लागि तय गरिएको ढोरपाटन सिकार आरक्षको कार्यालयले जनाएको छ ।