म्याग्दी, १३ मंसिर । द्वन्द्वका समयमा विस्थापित भएको म्याग्दीको शिख गाविसको कार्यालय १२ वर्षपछि पुनःस्थापना भएको छ ।
द्वन्द्वका समयमा कार्यालयमा आगजनी भएपछि २०५९ मा सदरमुकाम बेनीमा विस्थापित भएको गाविस कार्यालय यसै महिनादेखि गाउँबाटै सञ्चालन हुन थालेको हो ।
गाविसका सबै गतिविधि अबदेखि गाउँबाटै सञ्चालन हुने शिख गाविसका सचिव खेमराज पौडेलले बताउनुभयो ।
यसअघि गाविसको बैठक, सामाजिक सुरक्षा भत्ता वितरण र विशेष कार्यक्रमबाहेकको अवस्थामा सदरमुकाममा रहेको भाडाको कोठाबाट गाविसको कामकाज सञ्चालन हुने गरेको थियो ।
कार्यालय पुनःस्थापना भएपछि जन्म, मृत्यु, बसाइँसराइ, सम्बन्धविच्छेद जस्ता सामाजिक घटना दर्ता, सरकारी सेवा सुविधाको विषयमा परामर्श लिन र विकास योजनाका लागि समन्वय गर्न सर्वसाधारणलाई सहज भएको स्थानीयवासी गणेश गिरीले बताउनुभयो ।















प्रतिक्रिया