बाजुरा, ८ पुस । बाजुरा कारागारमा रहेका कैदी बन्दीलाई चिसो छल्न कम्मल सहयोग गरिएको छ । खप्तड छेडेदह गाउँपालिकाले हिँउदो चिसो छल्न कारागारमा जेल जीवन बिताईरहेका ३४ जना कैदीबन्दीलाई कम्मल सहयोग गरेको हो ।
जिल्ला कारागारमा २३ जना कैदी र ११ जना बन्दी रहेका छन् । हिँउदमा बढी चिसो हुने भएकोले जाडो छल्न एक/एक वटा कम्मल सहयोग गरिएको खप्तड छेडेदह गाउँपालिकाका कार्यकारी अधिकृत गणेश बस्नेतले बताए ।
कम्मल कारागार परिसर भित्रै औपचारिक कार्यक्रमका बीच कैदी बन्दीलाई कम्मल वितरण गरिएको कारागार शाखा बाजुराका जेलर जनक रावलले जानकारी दिए । कम्मल कारागार भित्रै गएर गाउँपालिका अध्यक्ष नरबहादुर रावतले हस्तान्त्रण गरेका हुन् ।
सुधार गृहमा जीवन बिताई रहेका कैदी बन्दीसँग साक्षात्कार गर्ने उद्देश्यले चिसो छल्न सानो सहयोग स्वरुप कम्मल सहयोग गरेको अध्यक्ष रावतले बताए । गाउँ पालिका अध्यक्षलाई कैदी बन्दीहरुले आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेका थिए ।
जवाफमा अध्यक्ष रावतले नेपालको संविधान र ऐन कानुनले दिएको अधिकार भित्र रही गर्न सकिने र गर्न मिल्ने सहयोगका लागि सधै तयार रहेको बताउँदै घर फर्किदा समाजको नमुना व्यक्ति बन्ने गरी जीवनलाई सुधार गरेर जान सुझाव दिएका छन् ।
चिसोकै कारण धेरै साथीहरु बिरामी पर्ने समस्या थियो, रात काट्न समेत मुस्कील थियो, सबैलाई पुग्ने गरी कम्मल सहयोग भएपछि ठूलो राहत पुगेको मोहन विष्टले बताए । कम्मल पाएपछि उनीहरु खुसी भएका छन् ।
पछिल्लो समय आफूहरु माथि समाजले हेर्ने नजरमा फरक देखिएको र सुधार गरेको प्रति कैदी बन्दी नायके विमल शाहीले खुसी व्यक्त गरे । भात खुवाएर बन्दी जीवन बनाएर मात्र कैदी बन्दीको जीवनमा राज्यले परिवर्तन ल्याउन नसक्ने भएकोले आय मुलक र व्यक्ति तथा समाजमा फाइदा हुने काममा लगाउन सह नाइके धनबहादुर बोहराले अनुरोध गरे ।
राजनीतिक परिबन्दले नै धेरै व्यक्तिहरु विना दोष र कारण जेल जीवन बिताउनु परेको दुखेसो गर्दै मोहन विष्टले त्यस प्रति समाज सजग र सचेत हुनु पर्नेमा बताए । गएको दशैबाट पीसविनले सुरु गरेको सहयोग कार्यक्रमपछि विभिन्न निकायले कैदी बन्दीलाई सहयोग गर्ने क्रम बढेको प्रति खुसी व्यक्त गरे ।
कार्यक्रममा कारागार शाखा प्रमुख जनक रावल, उर्जा विकास शाखा बाजुरा प्रमुख तालबहादुर रावत, पत्रकार पदम सिंह, प्रेम विक, लक्ष्मीराज पाध्याय, रमित विक लगायतको सहभागिता रहेको थियो ।













प्रतिक्रिया