चन्द्रौटा (कपिलवस्तु), ८ पुस । १४औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा कपिलवस्तुको चन्द्रौटामा महिला स्वास्थ्य स्वयंसेविका बीच प्रतिष्पर्धा गराइएको छ ।
“स्वयंसेविकाको निश्वार्थ सेवा, स्वास्थ्य समृद्ध राष्ट्र निर्माणमा टेवा” मूल नारासहित शिवराज नगरपालिका अन्तर्गत साविक ८ गाविसका स्वास्थ्य चौकी महिला स्वास्थ्य स्वयंसेविकाबीच हाजिरी जवाफ प्रतियोगिता गराइएको हो । प्रतियोगितामा शिवपुर स्वास्थ्य चौकीका महिला स्वास्थ्य स्वयंसेविकाको समूहले प्रथम पुरस्कार जित्न सफल भयो । यसैगरी कार्यक्रममा चनई स्वास्थ्य चौकी द्वितीय र लालपुर स्वास्थ्य चौकी महिला स्वास्थ्य स्वयंसेविका समूह तेस्रो स्थान ल्याउन सफल भए ।
प्रतियोगितामा स्वास्थ्य विषय अन्तर्गत प्रजनन् स्वास्थ्य, बाल मृत्यु दर, खोप, पोषण, सरसफाई सम्बन्धी प्रश्न समाबेश गरिएको थियो । महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई स्वास्थ्य क्षेत्रका विविध विषयबारे सामान्य जानकारी गराउन हाजिरी जवाफ प्रतियोगिता गराइएको हो । नेपालमा अहिले ५१ हजार ४सय ५० जना महिला स्वयंसेविकाहरु स्थानीय तहमा रही कूल प्रजनन् दर, बालमृत्यु दर घटाउन राष्ट्रिय लक्ष्य प्राप्त गर्न सेवा प्रवाह गर्दै आएका छन् ।
कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले महिला स्वास्थ्य स्वयंसेविकाहरुले स्वास्थ्य क्षेत्रमा पु-याएको योगदानको प्रशंसा गर्नुभयो । साथै नगरप्रमुख अधिकारीले स्वयंसेविकाहरुको श्रमको कदर गर्दै नगरपालिकाबाट हुनसक्ने सेवा उपलब्ध गराउने समेत आश्वासन दिनुभयो ।
आठ समूहबीच प्रतिष्पर्धा गराइएको कार्यक्रममा नगर उपप्रमुख शिवकुमारी चौधरी, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल तथा शिवराज नगरपालिका अन्तर्गतका स्वास्थ्य चौकीका ईन्चार्जहरुको सहभागिता रहेको थियो । कार्यक्रममा शिवराज नगरपालिका, सेभ द चिल्ड्रेन तथा कालिका स्वावलम्बन सामाजिक केन्द्रको सहयोग रहेको थियो ।













प्रतिक्रिया