रसुवा, ८ पुस । जोखिमयुक्त बस्ती स्थानान्तरण र पुनः निर्माण व्यवस्थापनअन्तर्गत भूकम्प प्रभावित परिवारका लागि जग्गा खरिद गरिएको छ ।
भूकम्पको असरले थातथलोमा बस्ने जोखिम र अन्यत्र जग्गा नभएका साबिक डाडागाउँ गाविस–८ र ९ का ४८ परिवारका लागि जनही चार आनाका दरले जग्गा खरिद गरिएको राष्ट्रिय पुनः निर्माण प्राधिकरण रसुवा इकाईका प्रमुख कृष्णकान्त उपाध्यायले जानकारी दिए ।
रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले शनिबार एक कार्यक्रमबीच ती भूकम्प प्रभावित परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरे । उत्तरगया गाउँपालिका–५ स्थित बोगटीटारको बगैँचा क्षेत्रमा उनीहरुका लागि एकीकृत बस्तीको व्यवस्था गरिएको छ भने स्थानान्तरण गर्नुपर्ने सूचीमा रहेका अन्य ३०५ जनाका लागि जग्गा खोज्ने कार्य भइरहेको राष्ट्रिय पुनः निर्माण प्राधिकरण रसुवाले जनाएको छ । तयार भएका जग्गाधनी प्रमाणपुर्जा भने आजै दुईजनालाई वितरण भएको र ४४ जनालाई स्थानीय बसोबास क्षेत्रबाटै वितरण गरिने प्रमुख उपाध्यायले बताए ।
दक्षिणी रसुवाको बोगटीटार बगैँचा क्षेत्रमा एकीकृत बस्ती विकासका लागि केशव आचार्य, वसन्त लामिछानेलगायतका सात जना स्थानीय बासिन्दाले जग्गा प्रदान गरेको र उनीहरुलाई निर्धारित मापदण्डअनुरुप प्रतिपरिवार दुई लाख रुपैयाँका दरले प्रजिअ चोमेन्द्र न्यौपानेमार्फत जग्गाको मूल्य भुक्तानी चेक हस्तान्तरण गरिएको पनि उनले बताए । –रासस












प्रतिक्रिया