६ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्रीले उद्यमीहरुसँग गुनासो गरे– हामीले छ दशकसम्म विकासको मुखै देख्न पाएनौँ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-koirala12काठमाडौँ, १२ मंसिर । प्रधानमन्त्री सुशील कोइरालाले उद्यमीहरुलाई नेपालमा लगानीको निम्ति आग्रह गर्नुभएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा सार्क चेम्बर्स अफ कमर्स एन्ड इन्डष्ट्रिजका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री कोइरालाले भन्नुभयो, ‘नेपालमा लगानी अनुकूल वातावरण बनेको छ तपाईंहरु निर्धक्क भएर लगानी गर्नुस् ।’

सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपालले हालै भारतसँग गरेको  विद्युत् व्यापार सम्झौता तथा माथिल्लो कर्णाली र अरुण तेस्रो आयोजनाका  आयोजना विकास सम्झौतालाई सङ्केत गर्दै भन्नुभयो, ‘हामीले भर्खर सुरुआत गरेका छौँ ।’

उहाँले नेपाल विकास प्रक्रियाको थालनीमा रहेको बताउँदै भन्नुभयो, ‘हामीले विकासको त मुखै देख्न पाएनौँ । छ दशकभन्दा बढीको समयदेखि खाली प्रजातन्त्रको स्थापना, पुनःस्थापना र विकासका लागि सङ्घर्ष गर्दागर्दै विकासमा ध्यान पुगेन ।’

प्रधानमन्त्री कोइरालाले सार्क मुलुकमा कनेक्टिभिटी सुरुआत भएको र छिट्टै सडक यातायात र रेल यातायात सम्झौता हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीले नेपालमा गरिने लगानीको सुरक्षाको प्रत्याभूति गरिने बताउनुभयो । प्रधानमन्त्री कोइरालाले माघ ८ गतेको निर्धारित समयभित्रै  संविधान जारी हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले अब  जलस्रोत, कृषि, पर्यटन र जडीबुटी उत्पादन र प्रशोधनका क्षेत्रमा लगानी बृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा सार्क चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिजका अध्यक्ष सुरज वैद्य, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष प्रदीपजङ्ग पाण्डे, सार्क चेम्बरका ज्ञानेन्द्रलाल प्रधान, युवा उद्यमी सौरभ ज्योति, शङ्कर पाण्डे, प्रवीना पाण्डे, समीर थापालगायत सार्क च्याम्बरमा आबद्ध बङ्गलादेश, भुटान र पाकिस्तान च्याम्बर अफ कमर्शका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा सार्क क्षेत्रका उद्यमीहरुले प्रधानमन्त्री कोइराला सार्कको अध्यक्ष हुनुभएको र सार्कको १८औँ शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न भएकामा प्रधानमन्त्री कोइरालालाई बधाई दिनु भएको थियो ।

उहाँहरुले सार्क क्षेत्रमा ऊर्जा सहयोगका सम्बन्धमा भएको सम्झौताको स्वागत गर्दै यसले आर्थिक विकासलाई सघाउने धारणा राख्नु भयो ।