६ कार्तिक २०८३, शुक्रबार

यसरी दिइदैँ छ गढीमाईमा नौ हजार राँगाको बलि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gadimai Ko Mela Ma Pasu Baliशीतलप्रसाद महतो
बरियारपुर (बारा), १२ मंसिर । एसियामै सबैभन्दा बढी बलि दिइने शक्ति पीठका रुपमा विख्यात गढीमाई मेलामा शुक्रबार बिहानैदेखि राँगा बलि दिने कार्य सुरु गरिएको छ ।

ऐतिहासिक र धार्मिक शक्तिपीठ गढीमाई मन्दिरका मूल पूजारी मङ्गल चौधरीले धार्मिक तथा धामी दुखा कछडियाले तान्त्रिक विधिअनुसार मंसिर शुल्क सप्तमी अर्थात् बिहीबार मध्यरातमा पूजाआर्चना गरेर पञ्चबलि दिइसकेपछि मात्र श्रद्धालुले भाकल गरेको राँगाको बलि दिने कार्य शुक्रबार बिहानदेखि सुरु गरेको हो । बोका र अन्य पशुपक्षीको बलि भने भोलि अष्टमीदेखि त्रयोदशीसम्म दिइने गढीमाई मेला समितिले जनाएको छ ।

भारतीय अदालतले पशु बलि दिन नहुने निर्णय गरेपछि यस वर्ष भारतबाट बलिका लागि आउने राँगामा अत्यन्त कमि देखिएको छ । भारतबाट राँगा ल्याउन अत्यन्त कडाइ गरेपछि यस वर्ष मेलामा झन्डै नौ हजार राँगा मात्र बलि दिइने अनुमान गरिएको छ । गत वर्ष १८ हजार रा“गा बलि दिइएको मेला व्यवस्थापन समितिले जनाएको छ ।

बिहीबार मध्यरातिमा सबैभन्दा पहिले गढीमाई मन्दिरका मूल पूजारी मङ्गल चौधरीले लिपपोत गरेर विधिवत्रुपमा पूजाआर्चना गरी गढीमाईलाई रिझाउँछन् अनि माईको मूर्तिमा पाँच वर्षसम्मको पूजाआर्चना एकै पटक गर्छन्, मूल पूजारी चौधरीले भन्नुभयो ‘पूजाका लागि प्रत्येक वर्ष गाउँभरिमा सबैभन्दा पहिले लगाएको धानबालीबाट प्राप्त धानलाई शुद्धताका साथ राखेर गढीमाईको मेला परेको वर्षमा त्यस धानलाई कुटेर निकालिएको चामलको खीर बनाई प्रसाद स्वरुप माईलाई अपर्ण गर्छन् र त्यसपछि दुईवटा हाँसको अन्डालाई बलि दिएर पूजाअर्चना गरेपछि मात्र धामी दुखा कछडियाले तान्त्रिक विधिअनुसार पूजा सुरु गर्ने गर्छन् ।’

धामी दुखा कछडियाले तान्त्रिक विधिअनुसार माईको पूजाआर्चना गरेपछि गाढीमाईको पूजाका लागि राखिएको दियो (बत्ती) आफैँ बल्छ र त्यसपछि धामी कछडियाले आफ्नो शरीरको महत्वपूर्ण पाँच अङ्ग जस्तै निधार, आँखाको माथिको भाग, जिब्रो, छाती र दाहिने तिघ्राको रगत दिई नरबलिको परम्परालाई कायम राखेको स्थानीय बासिन्दाको भनाइ छ । धामी  कछडियाले पूजा सम्पन्न गरेपछि कुभिण्डो र सेतो मुसाको बलि दिइन्छ । माईको प्रतापले बत्ती आफैँ बल्छ र सेतो मुसो पनि कतैबाट आइपुग्छ भन्ने जनधारणा रहे पनि अचेल सेतो मुसा जङ्गलबाट समातेर ल्याउने गरेको बताइन्छ ।

त्यसपछि पाठो, बोको, सुँगुर र राँगाको बलि दिने गरिन्छ । यसरी पञ्चबलि दिइसकेपछि मात्र श्रद्धालुलाई बलि चढाउने अनुरोध गर्ने प्रचलन रहेको स्थानीय बासिन्दा बताउँछन् । यो मेलाको विशेषता नै बत्ती आफैँ बलेपछि बलि दिन सुरु गरिन्छ र बत्ती निभे पछि बलि दिन बन्द गरिन्छ । त्यस बेलासम्म बलिदिन नसकेका राँगाको कान काटेर छाड्ने प्रचलन पनि रहेको बताइएको छ ।

गढीमाईको मूल मन्दिरमा बलि नदिएर त्यसको नजिकै अर्थात् करिब ७५ मिटर पूर्व रहेको ब्रह्मस्थानमा राखिएको लिङ्गोमा बलि दिने गरिन्छ । राँगाको बलि चाहीँ सप्तमीका दिनमात्र दिइन्छ भने बोका र अन्य पशुपक्षीको बलि अष्टमीदेखि त्रयोदशीसम्म दिइने गरिन्छ । यस मेलाका अवसरमा भाकल गरिएका बलि दिन नसक्नेले मकर सङ्क्रान्ति र फागुको दिन पनि बलि दिन सक्ने छुट रहेको बताइन्छ । पहिले पूजाका क्रममा गढीमाई मन्दिरको वर्गाकार परिधिलाई अक्षता छरेर मूल पूजारीद्वारा घेराबन्दी गरिन्छ । यसले गर्दा मेलामा कुनै प्रकारको अनिष्टको सम्भावना नरहने लोकमान्यता रहेको छ ।

वीरगन्जबाट १७ किलोमिटर पूर्व र बारा जिल्लाका सदरमुकाम कलैयाबाट करिब सात किलोमिटर टाढा पसाहाखोला नजिक अवस्थित गढीमाईमा प्रत्येक पाँच वर्षमा ठूलो मेला लाग्ने गरेको हो । धार्मिक आस्थाको केन्द्रका रुपमा मात्र नभई पर्यटकीय स्थलका रुपमा समेत आकर्षणको केन्द्र बन्दै गएको गढीमाई मन्दिरमा आजभोलि प्रत्येक दिन दर्शनार्थीको घुइँचो लाग्न थालेको छ भने आफ्नो मनोकामना पूरा हुने इच्छा र विश्वासकासाथ माईको दर्शनका लागि आउने श्रद्धालुको वीरगन्जदेखि नै सडकमा लर्को देखिन थालिएको छ ।

नेपाल अधिराज्यको सबैभन्दा ठूलो मेलाका रुपमा चिनिने यस मेलामा पछिल्लो वर्ष ८० लाखभन्दा बढी दर्शनार्थीले गढीमाईको पूजाअर्चना र दर्शन गरेको तथ्याङ्क छ । यस वर्ष करिब एक करोड मानिस मेला हेर्न आउने तथा ३० हजारभन्दा बढी पशुपंक्षीको बलि चढ्ने अनुमान मेला मूल आयोजक समितिले गरेको छ । एक महिनासम्म मेला लागे पनि मेलाको मुख्य दिन आज बरियारपुरमा मेला हेर्न मानव सागर नै ओर्लिएको देखिन्छ । गढीमाईको पूजाअर्चना र दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरू आज मात्र करिब ५० लाखभन्दा बढीको मानवको भीड बरियारपुरमा ओर्लिएको अनुमान मेला समितिको छ ।

गढीमाईमा हजारौँ पशुपक्षीको बलि चढाइए पनि, त्यहाँको चौर रगतै रगतले टम्म भए पनि त्यहाँ झिङ्गा देखिँदैन । यसलाई श्रद्धालु भक्तजनले गढीमाईको महिमाको रुपमा लिन्छन् । बलि दिएको राँगाको टाउकालाई ब्रह्मस्थान नजिकैको चौरमा खाल्डो खनी गाडिन्छ । मेलामा ज्यादै घुइँचोले गर्दा कलैयाबाट बरियारपुर जाने बाटोमा पर्ने पसाहा नदी पार गर्नासाथ बलि दिन थालिन्छ ।

गढीमाई र यसका मेलाबारे विभिन्न किंवदन्ती पाइन्छन् । मकवानपुरका सेनराजाको अन्तिम समयमा तत्कालीन बाराको फत्तेपुर सेमरी गाउँको एक आदिवासी भगवान् चौधरी सेन राजाको राजस्व प्रशासनको चपेटामा परी मकवानपुरगढीमा थुनामा कैद गरिएका थिए । उनी माईका भक्त थिए । एक दिन राति सपनामा मकवानपुरगढीकी माईले चौधरीलाई भनिन्– ‘तिमी मलाई यहाँबाट अन्यन्त्र लैजाउ ।’ चौधरीले जवाफ दिए– ‘मत स्वयम् हथकडी र नेलमा बाँधिएको छु । म कसरी हजुरलाई कतै लान सक्छु र ?’

माईले भनिन्, ‘तिमि त्यसको चिन्ता नगर’ रात परेपछि माईको प्रतापले हथकडी र नेलबाट चौधरी मुक्त भए, कैद गरिएका जेलको ढोका आफैँ खुल्यो । जेलका सुरक्षार्थ खटिएका सुरक्षाकर्मी मस्त निन्द्रामा थिए । भगवान् चौधरीले जेलबाट बाहिर निस्केर माईलाई बोकी पहाड, जङ्गल छिचोल्दै बरियारपुरमा पुग्दा उज्यालो भइसकेको थियो । त्यसपछि भगवान् चौधरीले माईलाई त्यही स्थापना गरेँ ।  त्यसैबेलादेखि गढीमाईको पूजाअर्चाना र बलिदान दिने प्रचलन सुरु भएको इतिहास छ । उक्त समयदेखि नै भगवान चौधरीका सन्तानले आजसम्म नबिराई गढीमाईका मूल पूजारीका रुपमा पूजाअर्चाना गर्दै आएका छन् भने थारु जातिका चौधरीहरू नै यहाँ माईका पूजारी रहेका छन् ।

गढीमाईका मेला कहिलेदेखि सुरु भयो र कसले सुरु ग¥यो भन्ने यकिनसाथ भन्न सकिँदैन । शिव सिंहको पालादेखि नै गढीमाईको मेला प्रारम्भ भएको अनुमान गरिन्छ ।

गढीमाई मेलाका अवसरमा भक्तजनको सहभागिताले यसलाई नेपाली कुम्भ मेला पनि भन्ने गरिन्छ तर लोकप्रसिद्ध गढीमाई मेलाका सम्बन्धमा विशेष र व्यापक प्रचारप्रसार भएको पाइँदैन । गढीमाई मेला मूल समितिका अध्यक्ष एवम् सभासद् शिवचन्द्र कुशवाहा भन्नुहुन्छ, ‘धार्मिक, साँस्कृतिक र पर्यटकीय महत्व प्राप्त गरेका गढीमाईलाई विश्व सम्पदाको सूचीमा राखेर सोहीअनुरुपको विकास गर्नसक्नुपर्दछ ।’

उहाँले विश्वप्रसिद्ध यस मेलामा आउने दर्शनार्थीको सुविधाका लागि सडक, सुरक्षा, ट्राफिक, पानी, बत्ती र सञ्चारलगायतका विविध सुविधा पर्याप्त मात्रामा मिलाइएको जानकारी दिए पनि त्यो प्राप्त मात्रामा नभएको गुनासो मेला भर्न आउने दर्शानार्थीहरूको छ । मेलामा मनोरन्जनका लागि सर्कस, थिएटर, ठूला तथा मझौला झुला, मौतको कुँआ र व्रेक डान्सलगायत विभिन्न मनोरन्जनात्मक सामग्रीहरूको व्यवस्था मिलाईएको छ ।  रासस