बाजुरा, २५ मंसिर । प्रतिनिधि सभा र प्रदेश सभाको जितपछि बाजुरा जिल्ला स्थित नेकपा एमाले र माओवादी केन्द्रका नेताहरु गाउँ पसेका छन् । विजयी गराउने जनतालाई धन्यवाद दिन बाम गठबन्धनका नेताहरु र नवनिर्वाचित सांसद गाउँ पसेका हुन् ।
जितपछि राजधानी हिँड्ने र जनतासँग चुनावमा मात्र आउने आरोप सहन बाध्य नेताहरु यस पटक भने जनताको घरदैलोमा फर्किएका छन् । जनताको घरदैलोमा पुगेर धन्यवाद दिने र जितको खुसी बाँड्ने गरी गाउँ बस्तीमा पुग्ने कार्यक्रम तय गरेको नेकपा एमाले जिल्ला अध्यक्ष कालीबहादुर शाहीले बताए ।
जिल्लाका एक प्रतिनिधि र २ प्रदेश सभा निर्वाचन क्षेत्रमा बाम गठबन्धनले जितेको छ । जनतासँगको भेटघाटका लागि नेकपा एमाले बैकल्पिक पोलिटव्यूरो सदस्य एवं ७ नम्बर प्रदेशका मुख्य मन्त्रीका प्रमुख दाबेदार कर्णबहादुर थापा नेतृत्वको टोली प्रदेश सभा क्षेत्र क मा गएको छ ।
यस्तै प्रतिनिधि सभा सांसद एवं नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापा नेतृत्वको टोली प्रदेश निर्वाचन क्षेत्र ख मा केन्द्रीत बनेको छ । ६ स्थानमा ठूला विजयी सभा र प्रत्येक साविक गाविस क्षेत्रमा पुगेर जनतालाई धन्यवाद दिने कार्यक्रम रहेको प्रदेश निर्वाचन क्षेत्र क का सांसद बल्देव रेग्मीले बताए ।
जनताको मतले विजयी भएपछि जनतालाई बधाई दिन गाउँ बस्तीमै पुग्ने र विजयी सभा आयोजना गर्ने बाम गठबन्धनले कार्यक्रम तय गरेको हो । जनताले ठूलो विश्वास र भरोसा गरेका छन्, फूल माला र सम्मान उनकै कारण प्राप्त भएको छ, जनताको राय लिएर मात्र काठमाडौं जाने प्रतिनिधि सभा सांसद लालबहादुर थापाले बताए ।
चुनावी प्रचारकै समयमा सबै बस्तीमा पुगेर मत मात्र माग्यौ, अब जनताको सल्लाह र समस्या संकलन गर्न गाउँ बस्तीमा पुग्ने योजना बनाएका हौं, जनताका मागको पोको बोकेर काठमाडौं जानेछु, थापाले भने ।
सांसदहरुले जनतासँग भेटेर विजयको खुसी मात्र बाँड्नु छैन्, समस्या बारे साक्षात्कार हुनु छ, समस्याको पहिचान र आवश्यकताको प्राथमिकिकरण गरी चुनावमा भनेका बाचा पुरा गर्ने योजना बनाउन जनता भेट्न गाउँ पसेको प्रदेश सभा ख का सांसद प्रकाश शाहले बताए ।
जनताले नेतालाई दिनु पर्ने सबैभन्दा अमूल्य मत दिएर विजयी गराई सके, अब दिने काम नेताहरुको छ । जनताले मात्र अधिकार र हक नेताहरुसँगै राख्दछन, राख्नु पनि पर्छ, त्यही भएर पुनः बस्तीमै पुगेर जनतासँग भेटघाट गर्न लागिएको सांसदहरुको भनाई छ ।
जितपपछि नेताहरु गाउँपुगेपछि जनतापनि खुसी भएका छन् । उनीहरुले गाउँमा पुग्दा भव्य स्वागत र अभिनन्दन गर्दै बाचा पुरा गर्न सचेत गराउने गरेका छन् । उसोत स्वयम गठबन्धनका कार्यकर्ताहरुले गाउँगाउँमा खुसीयाली स्वरुप भोज समेत गर्ने गरेका छन् ।
प्रदेश क को टोलीमा प्रदेश नम्बर ७ का मुख्य मन्त्रीका प्रमुख दाबेदार कर्णबहादुर थापा, प्रदेश सांसद बल्देव रेग्मी, माओवादी नेता सहदेब बोगटी, महेश शाही, एमाले नेता कालीबहादुर शाही, जनक कुमार बोहरा, पुरबहादुर रावत रहेका छन् ।
यस्तै प्रदेश ख तर्फ प्रतिनिधि सभा सांसद लालबहादुर थापा, प्रदेश सभा सांसद प्रकाश शाह, एमाले नेताहरु बसुन्धरा रोकाया, गगन रावल, लालबहादुर ओली, रामबहादुर बाँनीया, भरत थापा चन्द्र थापा, समानुपातिक सांसद सिताबराल थापा लगायत छन् । भने माओवादी नेताहरु दिपक बुढा, भरत बुढा लगायत रहनु भएको छ ।
६ स्थानमा विजयी सभा
बाम गठबन्धनले विजयीको सन्देश प्रवाह गर्न जिल्लाका विभिन्न स्थानमा विजयी सभा आयोजना गर्ने भएको छ । जिल्लाका दुबै क्षेत्रका मूख्य ठाउँमा विजयी सभा गर्ने कार्यक्रम तय भएको एमाले पार्टी प्रचार विभाग प्रमुख अमर खड्काले बताए ।
विजयी सभा सोमबार प्रदेश निर्वाचन क्षेत्र ख को फालासैन र बाह्विसको रिठा बजारमा भएको छ । भने प्रदेश क को पीलुचौरमा सम्पन्न भएका छन् । यस्तै कोल्टी, थपीचौरमा पनि विजयी सभा हुने भएको छ ।
छेडेदहको डोगडी र गौमुलको घटमुनामा पनि विजयी सभा आयोजना गर्ने बाम गठबन्धनले तयारी गरेको छ । सभालाई निर्वाचित सांसद सहीत नेताहरुले संवोधन गर्ने कार्यक्रम रहेको छ ।














प्रतिक्रिया