२९ आश्विन २०८३, बिहिबार

प्रथम दक्षिण एसियाली महिला भलिबल काठमाडौँमा हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ मंसिर । नेपाल भलिबल सङ्घको आयोजनामा प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल प्रतियोगिता हुने भएको छ ।

सङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी पुस ४ देखि ८ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने सङ्घका अध्यक्ष एवम् प्रतियोगिताका संयोजक दानबहादुर तामाङले जानकारी दिनुभयो ।

उहाँले दक्षिण एसियाली राष्ट्र र भलिबल खेलाडीबीचको सम्बन्धलाई मजबुद बनाउनका लागि उक्त प्रतियोगिताको आयोजना गर्न लागेको बताउनुभयो ।

प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र बङ्गलादेशको सहभागिता रहनेछ । भलिबल सङ्घबाट आर्थिक सहयोग मिलेमा अफगानिस्तानले पनि प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जनाएको छ ।

त्यस्तै, पाकिस्तान र भुटानका महिला टोली भने तयारी अवस्थामा नरहेकाले सहभागिता जनाउने छैनन् ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टोलीले क्रमशः दुई हजार, एक हजार र ५०० डलर प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा उत्कृष्ट घोषित हुने एक खेलाडीले रु २५ हजार पाउने छन् ।

रु ३७ लाख ६२ हजार खर्च लाग्ने उक्त प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले रु २० लाख आर्थिक सहयोग प्रदान गरेको आयोजकले जनाएको छ ।

उक्त प्रतियोगिताका लागि सङ्घले १९ सदस्यीय नेपाली टोलीको छनोट गरी बन्द प्रशिक्षणमा यसअघि नै राखिसकेको छ ।