– डिलप्रकाश गौतम
बर्दिया, २० मंसिर । बर्दियामा प्रतिनिधि सभा र प्रदेश सभाको बिहीबार हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । मंगलबार विहानदेखि मतदान स्थालमा खटिएका कर्मचारीहरुले मतदाता परिचयपत्र वितरण गर्नुका साथै मतदान स्थलको सम्पूर्ण तयारी पुरा गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
मतदाताको लाईन, मतपेटिका राख्ने स्थान, मतदान स्थलको सुरक्षा, सर्वदलिय बैठकलगायतका सम्पूर्ण कार्य पुरा भएको मतदान स्थलमा खटिएका मतदान अधिकृतहरुले बताएका छन् । बर्दिया जिल्लाका १ सय ५३ मतदान स्थलअन्तर्गत रहेका ३ सय २९ मतदान केन्द्रमा मतदानको सम्पूर्ण तयारी पुरा भैसकेको भन्दै मतदाता लाईनमा बसेर मत खसाल्न मात्र बाँकी रहेको मुख्य निर्वाचन अधिकृत किरण कुमार पोख्रेलले बताए ।
प्रतिनिधि सभाका लागि २ वटा निर्वाचन क्षेत्र रहेको बर्दियामा क्षेत्र नम्बर एकको मत पेटिकाहरु गणनाका लागि जिल्ला समन्वय समिति र क्षेत्र नम्बर २ को मालपोत कार्यालयमा राखि तारजाली लगाएर मतगणना गर्ने तयारी समेत पुरा गरिएको छ ।
त्यसैगरी निर्वाचन सुरक्षाकालागि सुरक्षा निकायका ४ वटै संयन्त्रलाई व्यापक रुपमा परिचालन गरिएको छ । बर्दिया जिल्लामा २ हजार ६ सय ३२ जना कर्मचारी र म्यादी प्रहरी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र अनुसन्धान विभागका कर्मचारी गरी करिव ४ हजार सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । नेपाल–भारत खुला सिमा भएका कारण सिमा शिल गरिएको छ भने सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै उच्च सुरक्षा सतर्कत बढाइएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताए ।
बर्दिया जिल्लामा मतदान स्थललाई सुरक्षा चुनौतिका आधारमा अति सम्वेदनशील ५७, सम्वेदनशील ४५ र ५१ सामान्यको रुपमा वर्गीकरण गरिएको छ । सामान्यको तुलनामा अति सम्वेदनशील र सम्वेदनशील मतदान केन्द्रमा सुरक्षाकर्मीको संख्या बढाइएको छ । बर्दियामा २ लाख ७२ हजार ४ सय ७७ मतदाता निर्वाचनमा सहभागी हुँदैछन् ।












प्रतिक्रिया