२२ कार्तिक २०८३, आइतबार

टेलिकमद्वारा दुर्गम क्षेत्रमा जीएसएम सेवा सञ्चालन

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ मंसिर । नेपाल टेलिकमले मुलुकका ग्रामीण तथा अति दुर्गम क्षेत्रका विभिन्न नयाँ स्थानमा जीएसएम मोबाइल उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले मुलुकको अति विकट मुस्ताङको स्याङबोचे भ्यु प्वाइन्ट र दोलखाको डाँडाखर्कमा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको हो ।

स्याङबोचे भ्यु प्वाइन्टमा मंसिर १५ र डाँडाखर्कमा मंसिर ११ गतेदेखि सेवा सञ्चालनमा आएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । मुस्ताङ जिल्लाको जोमसोमदेखि करिब ४० किलोमिटर टाढा करिब ४ हजार मिटरको उचाईको दालोमे गाउँपालिका ३ मा स्याङबोचे भ्यु प्वाइन्टको बीटीएस टावर स्थापना गरिएको छ । मुक्तिक्षेत्र गाउँपालिकाको ४ हजार २ सय ५० मिटर अग्लो स्थानमा अवस्थित घिउलाडाँडामा रिपिटर स्टेशन राखी माइक्रोवेभ लिंकमार्फत बीटीएससँग सम्पर्क कायम गरिएको प्रवक्ता वैद्यले बताइन् ।

सो टावरले छुसाङ, समर, घमी, सुरखाङ र अपर मुस्ताङको जोमसोम–कोरला हाइवे अन्तर्गत ताङवेदेखि जैतेसम्मकोे अधिकांश स्थानमा सेवा उपलब्ध गराउने उनले बताइन् । यसबाट अपर मुस्ताङ र दामोदर कुण्डको भ्रमणमा आएका पर्यटकका साथै सो क्षेत्रका ४ सय भन्दा बढी घरधुरी लाभान्वित हुने उनको भनाइ छ ।

त्यसैगरी दोलखाको डाँडाखर्कमा स्थापना गरिएको बीटीएसबाट ४ हजार भन्दा बढी सेवाग्राही लाभान्वित हुने छन् । दोलखाको मेलुङ गाउँपालिका, डाँडाखर्क, चिन्ने, फड्के, सर्नथली, घलडाँडा, भेड्फु र रामेछापको फुलासी, डडुवा र हरिया चिन्नेका सेवाग्राही यसबाट लाभान्वित हुने छन् । अब यी स्थानमा मोबाइलमार्फत कुराकानी गर्ने सुविधा उपलब्ध हुनुको साथै डाटा चलाउन समेत सकिने वैद्यले बताइन् ।