इनरुवा (सुनसरी), १८ मंसिर । नेपाली कांग्रेसका नेता तथा उपप्रधान एवम संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले लोकतन्त्र रक्षा गर्नका लागि काङग्रेसलाई बलियो बनाउन आवश्यक रहेको बताउनु भएको छ ।
सुनसरी सदरमुकाम इनरुवामा सोमबार नेपाली काङग्रेस क्षेत्र नम्वर २ (ख) ले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्नै उपप्रधानमन्त्री गच्छदारले सो कुरा बताउनुभएको हो । उहाँले काङग्रेस बलियो बने मात्र लोकतन्त्र बलियो हुने भएकाले काङग्रेसलाई बलियो बनाउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले नेपाली जनताले सात दशकदेखि संघर्ष गरेर ल्याएको लोकतन्त्र र त्यसलाई संस्थागत गरेकोे समावेशी संबिधान खारेज गर्न बाम गठबन्धन भएको बताउनुभएको छ ।
उपप्रधानमन्त्री गच्छदारले लोकतन्त्र, प्रजातन्त्रलाई बलियो बनाउनका लागि काङग्रेसलाई बलियो बनाउनतर्फ सबैले सोच्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले काग्रेस हार्यो भने सबै लोकतान्त्रिक पक्षधरको हार हुने भएकाले सबै लोकतान्त्रिक शक्ति एकजुट भएर बाम गठबन्धनलाई पराजित गर्नुपर्नेमा जोड दिनुभयो ।
उपप्रधानमन्त्री गच्छदारले बाम गठबन्धनले सबैलाई अधिकार सम्पन्न बनाएको संविधानलाई उल्टाएर देशमा निरंकुश शासन ल्याउन खोजेको समेत दाबी गर्नुभयो ।
कार्यक्रममा पार्टीका तर्फबाट सुनसरी क्षेत्र नम्वर २ (ख)का उम्मेदवार राजीव कोइरालाले काङग्रेसको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो ।












प्रतिक्रिया