डा. प्रदीप भट्टराई
१८ औं सार्क शिखर सम्मेलनको वहानामै सही, यसपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मोफसलको धार्मिक भ्रमण गर्ने मन बनाएका थिए । तर, त्यसलाई माछो माछो भ्यागुत्तोको खेल बनाएर बिचैमा तुहाइयो । यसबाट राजधानीका रैथानेहरु त तिघ्रा बजाएर रमाइरहेका पनि होलान् तर मोफसलका मन भने अमिलो हुने गरी कुडिएका छन् । मोफलस मोदीलाई ब्रान्ड एम्वेसडर बनाएर आफ्नो क्षेत्रको प्रबर्धन गर्न चाहन्थ्यो । तर, दुर्भाग्य उसले त्यो अवसर गुमाउनु पर्यो । माछो परिसकेको उसको हातमा बूढो भ्यागुत्तो मात्र पर्यो । अर्थात् टाइ टाइ फिस नै भयो भने पनि हुन्छ ।
नेपालीमा एउटा उखान छ, माछो माछो भ्यागुत्तो । आसन्न काठमाडौं सार्क शिखर सम्मेलनमा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मोफसल भ्रमणलाई लिएर यस्तै भयो । सुरुमा जनकपुरधाम, लुम्विनी र मुक्तिनाथ मोदी भ्रमणको सूचीमा थपिए । थपिएको मोफसल भ्रमणलाई धार्मिक भ्रमण न्वारन गरियोे । सार्क सिखर सम्मेलनको मौका पारेर धार्मिक भ्रमण । पशुपतिको जात्रा सिद्राको ब्यापार भनेझैं भयो महामहिम मोदीलाई । लुम्विनी र मुक्तिनाथ भ्रमण लोप्रोफाइलमा रहे पनि विवाह पञ्चमीको पूर्वसन्ध्यामा मोदीको जनकपुर भ्रमण हाइप्रोफाइल हुने नै भयो । जनकपुरबासीले ठाने, यसपटक माछो पर्यो, त्यो पनि असला ।
मिथिलामा मोदीको महत्व नहुने कुरै भएन । त्यसैले उनको भव्य एवं सभ्य स्वागतका लागि सरकारी र जनस्तर दुबैतिर तयारी गरियो । यसै क्रममा आयोजनास्थल र कार्यक्रमको ढाचालाई लिएर भ्रमणको तारतम्य मिलाउन सरकारले खटाएका जनकपुरिया मन्त्री विमलेन्द्र निधि र उनका स्थानीय राजनीतिक प्रतिद्वन्दीहरुले यसलाई प्रतिष्ठाको लडाइँ बनाए । उता जनकपुरमा यो जुंगाको लडाइ बढिरहेकै थियो, यता राजधानीमा सत्तारुढ दलहरुबीचमै जस लिने कुरामा खिचडी पनि पाक्न थाल्यो । यसरी दोहोरो दोहनमा मोदी भ्रमण परिरहेको बेला मुलुकका प्रधानमन्त्री सुशील कोइराला भने त्यसबारेमा कुहिरोको कागजस्तै थिए । राजधानीमा जानकारी दिनुपर्ने परराष्टमन्त्री महेन्द्रबहादुर पाण्डे एमालेका थिए भने उता जनकपुरमा खटाइएका निधि कांग्रेस भएर पनि देउवाका खाटी बफादार थिए । सुसूचनाको मामलामा सधैं पछि नै मानिने कोइराला यसपटक पनि नराम्ररी जिल्लिए । यतिसम्म कि जनकपुरधाममा सवारीमन्त्री निधिले मोदी भ्रमण रद्द भैसकेको जानकारी सार्वजनिक गर्दा पनि कोइरालासँग त्यो जानकारी थिएन । उनले सञ्चार माध्यमहरुबाट सार्वजनिक सेकेन्ड ह्यान्ड खबरमै चित्त बुझाउनु पर्यो ।
यसरी विवादमा पारिएको धार्मिक भ्रमण नगर्दै जाति लाग्यो क्या रे मोदीलाई पनि । भारतले अर्को टा्यल बेलुन खेल खेल्दै भ्रमण नगर्ने कुरा चुहायो । अर्थात् जनकपुरबासीका हातमा आइसकेको माछा फेरि भ्यागुत्तोमा परिणत भयो । विरोधमा सवारीमन्त्री निधि र कुहिरोको काग बनाइएका प्रधानमन्त्री कोइरालाको पुत्ला मात्र दहन गरिएन, जनकपुर नै बन्द भयो । भारतीय प्रधानमन्त्रीको भ्रमणलाई लिएर नेपालको सांस्कृतिक नगरी नै बन्द । यो आफैंमा अनौठो संजोग मात्र हैन, गतिलै समाचार बन्यो ।
यसरी एकातिर अनपेक्षित रुपमा जनकपुरको माहौल तातिएको अवस्था अर्कोतिर समकक्षीको भ्रमणलाई विवादमा पारेर रद्द नै गर्नुपर्ने परिस्थिति । ढिलो त यसै पनि भैसकेको थियो, त्यसपछि स्वभावैले ढिला प्रधानमन्त्री कोइरालाको पनि होस खुल्यो । उनले भारतीय समकक्षीलाई भ्रमण यथावत् राख्न अनुरोध गरे । सुन्ने काममात्र भएको थियो, उताबाट प्रष्ट संकेत नआउँदै फेरि उनका परराष्टमन्त्री पाण्डेले अर्को टयल बेलुन झारे, मोदीको भ्रमण यथावत् । त्यसपछि फेरि जनकपुरधामलगायतका मोफसलमा उत्साह चुलियो । मोदी भ्रमणको समर्थन र निधिको विरोधमा जनकपुरमा नारा नै लाग्यो, मोदी हाइहाइ, निधि बाइबाइ । जनकपुरबासीलाई फेरि लाग्यो, हातमा त माछा नै पर्यो ।
यसरी एकपछि अर्को गरेर गिजोलिइरहेको थियो मोदीको धार्मिक भ्रमण । तैपनि नेपालको मोफसल उनको भ्रमण हुने कुरामा आशावादी थियो । यतिकैमा माथिल्लो तहमा फेरि के खिचडी पाक्यो कुन्नि, भारतीय विदेश मन्त्रालयले औपचारिकरुपमै भ्रमण स्थगित भएको घोषणा गर्यो । यसमा उसले नेपालको आन्तरिक कारण कतै छोएन, आफ्नै घरेलु कारण देखाएर भ्रमण रद्द हैन, हाललाई स्थगित मात्र भएको स्टाटसमा राखिदियो । यसले नेपालको कूटनैतिक असफलता, आन्तरिक मतभेद र रणनैतिक कमजोरीमाथि बनारसी सारीको सप्को त हालिदियो तर त्यसले भ्वांग परेको नेपालको ठूलो कूटनीतिक लाज छोप्न सक्ने टालोको भने काम गर्न सक्ने अवस्था नै थिएन ।
मोदीको धार्मिक भ्रमणको स्टाटस स्थगित होस् या रदद् । त्यसले खासै फरक पारेन तर मोफसलका लागि भने माछो माछो भ्यागुत्तो नै भयो । लुम्विनी र मुस्तांग त माछो माछो भ्यागुत्तोको यो खेलमा खासै सहभागी भएनन् । तर, जनकपुरले भने यसलाई गम्भीरतापूर्वक लिएर आफ्नो भागमा भ्यागुत्तो नै परेको ठान्यो । सार्क शिखर सम्मेलनको अवधिमा यो भावना कार्पेटमुनिको धुलो जसरी रहेपनि त्यसपछि भने यो विषयले राम्रै सरगर्मी ल्याउने सम्भावना छ ।
यो भ्रमण रदद् हुँदा कसलाई फाइदा भयो ? अनि, कसलाई बेफाइदा ? त्यसको लेखाजोखा त समयमा समयले नै गर्ला । अहिलेलाई भने त्यसले नेपाल र नेपालीलाई भने पटक्कै फाइदा गरेन । यसबाट नकरात्मक फाइदा हुने तीन पक्ष देखिन्छन्, पहिलो पक्ष हो पाकिस्तान । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई आप्नो चीर प्रतिद्वन्दी भारतका समकक्षीको कम चलखेलले काठमाडौंको जाडोमा मूतको न्यानो दिन सक्छ । दोस्रो पक्ष हो, चीन । भारतीय कम चलखेल चाहने चीनलाई यसबाट सानो भए पनि सान्त्वना मिल्न सक्छ । तेस्रो पक्ष हो, नेपालको तथाकथित धार्मिक निरपेक्ष समुदाय । मोदीको भगुवा रंगसँग तर्सने उनीहरुलाई थोरै मात्र भए पनि यसले राहत दिन सक्छ । तर, यो फाइदाको अनुपातमा नेपाल र नेपालीलाई हुने बेफाइदाको मात्रा भने निक्कै धेरै छ । साँच्चै भन्ने हो भने तुलना नै गर्न मिल्दैन ।
भनिररहनु पर्दैन, टाइम म्यागजिनकै वर्ष व्यक्तित्वको दौडमा सबैभन्दा अघि रहेका मोदी अहिले विश्वकै राजनीतिक सेलिव्रिटी हुन् । सेलिव्रिटी समाचारको मेनुमा सबैभन्दा माथि हुन्छन् । स्वभावतः मोदी पनि छन् । त्यसैले उनको धार्मिक भ्रमणसँगै सिर्जना हुने मिडिया हाइपले नेपालको धार्मिक पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्थ्यो । जनकपुरधाम र मुक्तिनाथको उनको भ्रमणले भारत र विश्वमा छरिएर रहेका हिन्दू धर्मावलम्वीहरुबीच यी दुई धार्मिकस्थलहरुको वृहत प्रचार हुन्थ्यो । लुम्विनीको भ्रमणले बुद्धको जन्मभूमी नेपालले थप भारतीय लालमोहर पाउँथ्यो । यी भ्रमणका क्रममा उनको सम्वोधनबाट धेरै नेपालीले मातृभूमीको पक्षमा सोच्ने जोड र कोण पाउँथे । कतिपय गरीव नेपालीले साइकल नै पाउँथे । अझ, उनको निर्वाचन क्षेत्र वनारससँग जोडिएको लुुम्विनीले अरु पनि धेरै पाउन सक्थ्यो । यो पाउने कुरा भौतिक जति हो, त्योभन्दा धेरै भावनात्मक हो । समग्रमा यो भ्रमणले राजधानी र मोफसलबीचको दूरी घटाउने काम मात्र हैन, नेपाल भारतबीचको सम्बन्धमा अरु थप इटा थप्ने अवसर पनि जुराइ दिन्थ्यो ।
मोदी भ्रमण स्थगित भनौ या रद््द, यो हुनुकोमूल कारण नेपालको कूटनीतिक अक्षमता नै हो । त्यसमा पनि वर्तमान सरकारका मुखिया र तत्तत् मन्त्रालय हेर्ने मन्त्रीहरु अनि सल्लाहकारहरु नै सबैभन्दा ठूलो दोषका भागिदार हुन् । त्यसमा तालुकवाला मन्त्रालय पनि कम जिम्मेवार छैन । अझ गम्भीरतापूर्वक हेर्ने हो भने यसमा जनकपुरको घरेलु राजनीतिको पनि त्यतिकै भूमिका रहेकोछ । यो घटनाले जनकपुरमा निधिका रुपमा लिइने विमलेन्द्र निधि कौडीमा परिणत भए भन्दा पनि हुन्छ । उनी हिरोबाट एकाएक जिरोमा झरेको अवस्था हो यो । आफ्नै गृहनगरमा उनको मात्र हैन, उनकै पार्टीका सभापति समेत रहेका प्रधानमन्त्रीको पुत्लादहन भएको छ । मूर्दावादको नारा लागेको छ । यसमा उनका राजनीतिक प्रतिद्वन्दीहरुको त हात होला नै, स्वयं उनका अनुयायीहरु पनि सडकमा उत्रनुपर्ने परिस्थिति सिर्जना भयो यसपटक । उनीहरुले आफ्ना नेताको विरोधमा जमेर नारा लगाए । हुन त यसमा जनकपुरकै स्थानीय कांग्रेसी गुटगत राजनीतिको पनि गतिलै प्रतिछाँया परेको देखिन्थ्यो ।
मोदीको धार्मिक भ्रमण भएको भए पनि सार्क शिखर सम्मेलन मोदीको छायामा पथ्र्यो, स्थगित भयो तैपनि छायामा पर्ने सम्भावना ज्युँकात्युँ छ । किनकि, मोदी अहिले विश्व राजनीतिकै सेलिब्रिटी हुन् । ओवामा, पुटिन, मर्केल र सीलाई त छायाँमा पार्ने उनको करिश्मादार व्यक्तित्वले सार्क राष्ट्का प्रमुखहरुलाई किनारा नलगाउने भन्ने नै हुदैन । त्यसैले कसैले चाहे पनि नचाहे पनि सार्क मोदीमय नै हुने छ । किनकि, त्यसका लागि आवश्यक हो, बज र मिडिया हाइप । पपुलर मिडियाले मोदी छोडेर अरुमा न बाइट भेट्छ, न क्लिप न कोटेसन । अहिलेको ठाडो प्रतिस्पर्धामा टीआरपी, आएएस र रिडरसिपका लागि पनि मिडियाले मोदीको सहारा लिनैपर्ने हुन्छ ।
सारमा, मोदीको मोफसल भ्रमण स्थगित हुँदा त्यताका नेपाली मनहरु दुखेका छन् । उनीहरु सित्तैमा मोदीलाई ब्रान्ड एम्वेसडर बनाएर आफ्नो क्षेत्रको प्रवद्र्धन गर्न चाहन्थे । त्यो अवसर गुमाउँदा स्वभावतः उनीहरुको भावनामा चोट पुगेको छ । अझ , त्यसमा पनि माछो माछो भ्यागुधेको खेलमा सहभागी गराएर अन्तमा हातमा माउ भ्यागुत्तो पारी दिदा त्यसले मनोग्रन्थीमै प्रभाव पारेको छ । भनाइ नै छ, खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ, भावनामा खेल्नहरुलाई त्यसको मर्म थाहा हुने कुरै हुदैन । मोफसललाई फेरि एक पटक त्यस्तै भयो, जुन नहुनुपर्ने थियो । आगे, उनीहरु नै जानुन् ।
















प्रतिक्रिया