
धनगढी, १७ मंसिर । थारु र रानाथारु समुदायको पहिचान र अधिकार स्थापित गर्नका लागि बाम गठबन्धनको जीत आवश्यक रहेको थारु नेताहरुले बताएका छन् । मसुरियामा शनिबार पत्रकार सम्मेलन गरेर एमाले–माओवादीका थारु नेताहरुले थारु समुदायको मत बाम गठबन्धनका पहाडी मुलका उम्मेदवारलाई जाँदैनन् भनेर विपक्षीले भ्रम फैलाउन खोजेको बताए ।
‘काँग्रेसले थारु समुदायको हीतमा काम गर्न सक्दैन । बाम गठबन्धनले जीतेमात्र थारु समुदायको पहिचान र अधिकार स्थापित हुन्छ ।’ थारु राष्ट्रिय मुक्ति मोर्चाका महासचिव हरिराम चौधरी ‘उत्सव’ले भने, ‘समानुपातिक समावेशीता, संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको रक्षाका लागि पनि गठबन्धनको जीत आवश्यक छ ।’
क्षेत्र नम्बर ३ र ४ मा गठबन्धनका पहाडी मुलका उम्मेदवारले थारुका मत पाउँदैनन् भनेर विपक्षीले भ्रम सिर्जना गर्न खोजेको उनले बताए । माओवादीबाट प्रदेश सभा सदस्यको समानुपातिक उम्मेदवार समेत रहेका चौधरीले संविधानमा टेकेर थारु समुदायको आर्थिक अवस्थामा सुधार गर्न, रोजगारी दिन, शिक्षा, स्वास्थ्यमा पहुँच पु-याउने प्रतिवद्धता गठबन्धनले गरेको बताए ।
जनआन्दोलन, जनयुद्ध आदि राजनीतिक परिवर्तनमा थारु समुदायको ठूलो बलिदान रहेको भन्दै उनले अब राज्यका हरेक निकायमा थारुको प्रतिनिधित्व आवश्यक रहेको बताए । प्रदेश सरकारमा मुख्य एउटा पद र सरकारमा ३० प्रतिशत मन्त्री थारु समुदायबाट हुनुपर्ने र त्यसका लागि आफूहरुले पहल गर्ने उनले बताए । प्रदेशको राजधानी धनगढी–अत्तरिया हुनुपर्ने आफूहरुको धारणा रहेको उनले बताए ।
माओवादी पोलिटब्यूरो सदस्य सदस्य बीरमान चौधरीले वाम गठबन्धनको जीतले मात्र थारु समुदायको पहिचान र अधिकार स्थापित हुने बताए । ‘गठबन्धनको जीतले मात्र हाम्रा मुद्दा स्थापित हुन्छन ।’ कैलाली क्षेत्र नम्बर ३ बाट प्रदेश सभा क्षेत्र १ बाट प्रदेश सभा सदस्यका उम्मेदवार समेत रहेका चौधरीले भने, ‘प्रदेश सरकार र केन्द्र सरकारमा थारु समुदायको उचित प्रतिनिधित्व हामी गर्छौं ।’ गठबन्धनको जीतले मात्र देशको विकास हुने भन्दैै उनले स्थानीय तहको निर्वाचनको परिणाम हेर्दा पनि कैलालीमा गठबन्धनको जीत सुनिश्चित रहेको दावी गरे ।
एमाले नेतृ चुनकुमारी चौधरीले मुलुकको आर्थिक समृद्धि र विकासका लागि बाम गठबन्धन भएको बताईन । उनले देशको विकास र थारुहरुका अधिकार सुनिश्चितताका लागि बाम गठबन्धनको जीत आवश्यक रहेको बताईन ।
गठबन्धनबाट क्षेत्र नम्बर ४ को प्रदेश सभा १ का उम्मेदवार एवं एमाले कैलालीका अध्यक्ष दीर्घ सोडारीले एमाले–माओवादीले मात्र राजनीतिक नेतृत्व र अन्य क्षेत्रमा थारु र रानाथारु समुदायलाई स्थापित गराएको बताए । ‘एमाले–माओवादीले नै थारु नेतालाई सांसद, सभासद, मन्त्री बनाएका छन् । हामीले नै जिल्लामा थारु नेतालाई पार्टी अध्यक्ष बनाएका छौं तर दुवै पार्टीलाई थारु विरोधी भनिदैछ ।’ सोडारीले भने, ‘तर अरु कुन पार्टीले थारु नेतालाई पार्टीको नेतृत्वमा ल्याएका छन् ?’ उनले केन्द्र र प्रदेश सरकारमा पनि गठबन्धनले थारु समुदायको उचित प्रतिनिधित्व गराउने प्रतिवद्धता जनाए ।












प्रतिक्रिया