६ कार्तिक २०८३, शुक्रबार

राष्ट्रपति यादवले डा कुमुदलाई भने– नेपालीको गौरब बढाउनु भएकोमा बधाई

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dr-kumod कालिका खड्का
काठमाडौँ, ८ मङ्सिर । मृत घोषित व्यक्तिको मुटुलाई दोस्रो व्यक्तिमा सफल प्रत्यारोपण गरी चर्चाको शिखरमा पुग्नुभएका मुटुरोग विशेषज्ञ डा कुमुद धिताललाई स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले आज नेपाल र नेपालीका तर्फबाट बधाई दिनुभएको छ ।

मन्त्री अधिकारीले आफ्नै कार्यकक्षमा डा. धिताललाई माला लगाएर बधाई दिँदै भन्नुभयो, ‘तपाइँको ज्ञान र अथक प्रयासले स्वास्थ्य क्षेत्रमा ठूलो सफलता मिलेको छ, यसले नेपालीको गौरव बढेको छ ।’

अष्ट्रेलियाको सेन्ट भिन्सेन्ट अस्पतालमा कार्यरत डा धितालले गत कात्तिक ७ गते मृत्यु भइसकेका व्यक्तिको मुटु झिकेर त्यसमा प्राण भरी पुनः अर्का बिरामीको शरीरमा सफल प्रात्यारोपण गर्नुभएको थियो ।

‘उच्च मनोबलका साथ काम गर्नुस्, तपाईलाई हाम्रो साथ छ, नेपालीको स्वास्थ्यका लागि के गर्न सकिन्छ, यसबारेमा पनि सोचिदिनु होला’ – मन्त्री अधिकारीले भन्नुभयो ।

नेपालमा स्वास्थ्य क्षेत्रमा विगत वर्षको तुलनामा सुधार आएको र शिशु मृत्युदर ३२ बाट झरेर २३ मा आएको जानकारी दिँदै उहाँले सीमित स्रोत र साधनले काम गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

‘नेपालमा यो प्रत्यारोपण प्रक्रिया भित्र्याउन सकेमा राम्रो हुन्थ्यो, मुटु काम नलाग्ने भएर मृत्यु हुनेको सङ्ख्या यहाँ बढ्दो छ;–मन्त्री अधिकारीले थप्नुभयो  ।

मन्त्रीको जिज्ञासामा डा धितालले नेपालमा मुटु प्रत्यारोपण ज्यादै महँँगो भएको र प्रत्यारोपणमा प्रयोग गरिने अमेरिकी मेसिनको लाखौँ डलर पर्ने जानकारी दिनुभयो । नेपालमा पनि क्षमतावान् चिकित्सक रहेको उहाँको भनाइ  थियो ।

स्वास्थ्य मन्त्रीसँग भेट गर्नुअघि डा धिताललाई आजै राष्ट्रपति डा रामवरण यादवले चिकित्सा क्षेत्रमा राम्रो काम गरेर नेपालीको गौरब बढाउन सफल भएको भन्दै बधाई दिनुभएको थियो ।

पाँच वर्ष लामो अनुसन्धानपछि डा पिटर म्याक रोनाल्ड र डा धितालले मृत व्यक्तिको मुटुलाई पुनर्जीवित गरेर सफल प्रत्यारोपण गर्नुभएको हो ।

आधुनिक चिकित्सा विज्ञानमै लामो फड्को मानिएको उक्त अनुसन्धानका मुख्य शल्यचिकित्सक डा धिताल नै हुनुहुन्छ । सँसुँगुरमा परीक्षण गरेर लामो अनुसन्धानपछि मानिसमा पनि त्यस्तो मुटु प्रत्यारोपण गर्न सकिएको हो ।

‘यो प्रत्यारोपण प्रयास डा डोनाल्डले विकास गरेको एउटा घोल (सोलुसन) र मैले चलाउने एउटा अमेरिकी मेसिनको प्रयोगबाट सफल भएको हो,’ डा धितालले भन्नुभयो – ‘यो सफलता संयुक्त प्रयासको प्रतिफल हो ।’

उहाँका अनुसार कुनै व्यतिm मृत घोषित भइसकेपछि प्रत्यारोपण प्रक्रिया सुरु हुन्छ । बिरामीको पूरै शरीर मरेको दुईदेखि चार मिनेटभित्रै मृतकको मुटुमा एक किसिमको घोल पठाइन्छ । त्यसले मुटुलाई आवश्यक अक्सिजन, रगत र पोषण तत्व प्राप्त हुन्छ । त्यसपछि ३० मिनेटभित्र शरीरबाट मुटु झिकेर मेसिनमा राखिन्छ । त्यो मेसिनले तीनदेखि पाँच घन्टाभित्र मुटुलाई पूर्णतः सामान्य अवस्थामा फर्काउँछ । त्यसपछि त्यो मुटु रोगीको शरीरमा प्रत्यारोपण गर्न लायक बन्छ ।

दुई दशकदेखि यो विधामा लाग्नुभएका डा धितालले अनुसन्धान थालेकै नौ वर्ष पूरा भइसकेको छ ।

अस्ट्रेलिया आउनुअघि उहाँले बेलायतको क्याम्ब्रिज विश्वविद्ययालयमा पनि मुटुको शल्यचिकित्सा र प्रत्यारोपणको काममा तेह्र वर्ष व्यतीत गरिसक्नुभएको छ ।

गोरखा पुख्र्यौली घर भएका ५४ वर्षीय डा धिताल पूर्वसचिव विष्णुप्रसाद धितालका कान्छा छोरा हुनुहुन्छ । उहाँको विद्यालय तहको पढाइ ललितपुरको सेन्ट जेभियर्स र इटालीको रोममा भयो भने उच्च शिक्षा बेलायतमा भयो । उहाँले शरीर विज्ञान (एनोटोमी) मा स्नातकोत्तर र एमबिबिएस गर्नुभएको थियो ।

हालसम्म यो विधिबाट तीन जनामा मुटु प्रत्यारोपण गरिसकिएको छ जसमध्ये दुई जना पूर्ण स्वस्थ छन् भने अर्का एकको उपचार जारी छ । रासस