– नरेश के.सी
मोतिपुर (रुपन्देही), १४ मंसिर । नेकपा एमालेका उपमहासचिवद्वयले मोतिपुर सेमलारलाई जिल्लाकै समृद्ध क्षेत्र बनाउने उद्घोष गरेका छन् । पुर्वमन्त्री समेत रहेका एमालेका नेताद्धयले भैरहवा र बुटवलको हाराहारीमा मोतिपुर सेमलारलाई विकास गर्नेगरी विभिन्न आयोजनाको कामको थालनी समेत गरेको बताए ।
मोतिपुरको पोखरबारीमा आयोजित आमसभालाई सम्बोधनत गर्दै पुर्व अर्थमन्त्री समेत रहेका एमाले उपमहासचिव विष्णुप्रसाद पौडेलले रुपन्देहीको मोतिपुर नेपालकै नमूना शहर बन्ने बताए । मोतिपरमा नेपालमै अन्य ठाउँ नबनेको डिजाइनमा मोटरबाटो बन्दै गरेको भन्दै नेता पौडेलले मोतिपुरवासीको तीब्र विकासको चाहना छिटै पुरा हुने उल्लेख गरे ।
सभालाई सम्बोधन गर्दै रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य समेत रहेका नेता पौडेलले बीचमा नहर, दायाँ बाँया हरियालीसहितको दुईलेन सडक निर्माणको क्रममा रहेकोले यो देशकै नमूना सडक बन्ने दावी गरे । स्थानीयको चाहनाबमोजिम मोतिपुरलाई बुटवलसँग जोड्न विभिन्न ठाउँमा पुल निर्माण गरिरहेको उनले बताए । पौडेलले भने, ‘तपाई मोतिपुरवासीले यस क्षेत्रका प्रतिनिधि सभाका सदस्य उम्मेदवार घनश्याम भूषाललाई भोट दिँदा हामी दुई प्रतिनिधिले जित्ने छौँ, एउटै भोटले दुई उम्मेदवार जिताउनु हुनेछ ।’ आफू सधैँ मोतिपुरवासीको साथमा रहने भन्दै उनले बुटवल, मोतिपुर, सिद्धार्थनगर र आसपासका क्षेत्र समेटेर अब महानगर बनाइने उद्घोष गरे ।
कार्यक्रममा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार घनश्याम भुषालले देशमा बामपन्थीको सरकार निर्माण भएपछि रुपन्देहीसहित देशभर आर्थिक विकासले गति लिने उल्लेख गरे । उनले लुम्बिनीलाई केन्द्रमा राखेर समग्र जिल्लाको विकास गरिदा मोतिपुर सेमलार क्षेत्र सबैभन्दा महत्वपुर्ण बन्ने बताए ।
पार्टिका उपमहासचिव समेत रहेका भुषालले भ्रस्टाचारको निर्मूलीकरण गरेमा मात्रै पनि देश समृद्ध हुने बताए । बामपन्थि एकताका सुत्रधार नेता भुषालले देशमा औद्योगिक विकास गरी वर्षमा ४ लाख युवालाई रोजगारी दिन सक्ने नीतिगत व्यवस्था गरिने गरी अगाडी बढ्ने पनि बताए । सोही अवसरमा उनले विस २०४७ सालमै जेल पर्नुपर्ने कतिपय भ्रष्टाचारीहरु अहिलेको निर्वाचनमा पनि उम्मेदवार रहेको भन्दै उनीहरुले जनतामा भ्रम सृजना गरिरहेको समेत बताए ।
कार्यक्रममा क्षेत्र नम्बर ३ (ख)का प्रदेश सभा सदस्यका उम्मेदवार तुलसी चौधरीले प्रतिस्पर्धी दलका उम्मेदवारले तराईका जनतालाई मासु र मदिरामा भूलाएर जनमत लिने दाउमा रहेका भन्दै उनीहरुका भ्रममा नपर्ने आग्रह गरे ।












प्रतिक्रिया