२२ कार्तिक २०८३, आइतबार

ठूला दललाई टक्कर दिंदै साना दल चुनावी मैदानमा, चन्द्रौटामा छुट्टाछुट्टै चुनावी सभा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सीताराम चौधरी

चन्द्रौटा (कपिलवस्तु), १३ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनको मिति नजिकिंदै जाँदा कपिलवस्तुमा चुनावी माहोल झनै तातेको छ । बाम मठगबन्धन, नेपाली कांग्रेस लगायतका ठूला दलहरुका साथै साना दलहरु समेत चुनावी मैदानलाई तताएका छन् ।

सभा, सम्मेलन, घरदैलो, प्रचारप्रसार लगायतका कार्यक्रममा यतिबेला दलहरु व्यस्त छन् । ठूला दलहरुको प्रतिष्पर्धा भइरहँदा साना दलहरु समेत चुनाव जित्ने जोडघटाउ गर्दै आएका छन् । मतदाता रिझाउन उम्मेदवारहरु आफ्ना चुनावी एजेण्डासहित जनताहरुलाई विभिन्न आश्वासन बाँड्दै हिँडेका छन् ।

यसैबीच जिल्लाको चन्द्रौटामा तीन साना दलहरुले छुट्टाछुट्टै चुनावीसभा सम्पन्न गरेका छन् । बहुजनशक्ति पार्टी, नेपाल संघीय समाजबादी पार्टी र राप्रपाले बुधबारे हाटबजारको मौका छोपी चुनावी सभा गरेका हुन् । बहुजन शक्ति पार्टीका केन्द्रिय अध्यक्ष विश्वेन्द्र पासवानको सम्बोधन रहेको आमसभामा जिल्लाका अधिकांश दलित र मुस्लिम समुदायका महिला, पुरुषहरुको सहभागिता रहेका थियो । कार्यक्रममा केन्द्रिय अध्यक्ष पासवानले सबैको साझा पार्टी नै बहुजन पार्टी भएकाले आफ्नो पार्टी कमजोर नरहेको दाबी गरे ।

चुनाव चिन्ह ‘जग’ लिएर प्रतिनिधिसभा ३ मा उम्मेदवार बनेका एहसान अहमद खानले गरिब, दलित, पिछडा वर्ग, मुस्लिम समुदायको अधिकार सुनिश्चित गर्ने पार्टी भएको दाबी गर्दै आफ्नो पक्षमा जनमत रहेको दाबी गरेका छन् । यसपटक कपिलवस्तु क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा आफ्नो जीत सुनिश्चित भइसकेकाले सबैलाई बहुजन शक्ति पार्टीमा आउन आग्रह गरे । बहुजन शक्ति पार्टीबाट प्रदेशसभा १ बाट महेश जैसवाल (पिन्टु भैया) र प्रदेशसभा २ बाट गौरीशंकर हरिजन (भुर्रे भैया) चुनावी मैदानमा उत्रिएका छन् ।

यता नेपाल संघीय समाजबादी पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै केन्द्रिय अध्यक्ष रिजवान अन्सारीले सबै वर्ग, समुदायका जनताहरुलाई समेटेर लैजाने पार्टी नै नेपाल संघीय समाजबादी पार्टी भएको दाबी गरे । केन्द्रिय अध्यक्ष अन्सारीले कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधिसभाका युवा उम्मेदवार मंगल थारु, प्रदेशसभा १ मा पनि मोडेल तथा युवा नेता मोहम्मद रहिस शाहको उम्मेदवारी रहेको बताउँदै युवाहरुलाई काम गर्ने अवसर दिन आग्रह गरे ।

केन्द्रिय अध्यक्ष अन्सारीले ‘बस’ चुनावचिन्हमा मतदान गरी बहुमतले विजयी गराउन समेत सबै मतदातालाई अनुरोध गरे । नेपाल संघीय समाजबादी पार्टीबाट उम्मेदवारी दिएका प्रतिनिधिसभाका उम्मेदवार मंगल थारु र प्रदेशसभा १ का उम्मेदवार मोहम्मद रहिस शाहले समेत आफूहरुमा काम गर्ने जोस जाँगर भएको र आफ्नो पक्षमा जनमत रहेकाले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका थिए ।

यसैगरी चन्द्रौटामा चुनावी सभालाई सम्बोधन गर्दै राप्रपाबाट निर्वाचन क्षेत्र नं. ३ प्रदेशसभा १ का उम्मेदवार देवराज भारतीले यसपटकको प्रदेशसभामा आफ्नो जीत पक्का रहेको दाबी गरे । उनले आफू सधैं जनताकै पक्षमा रहेकाले सबैलाई यसपटक चुनाव चिन्ह ‘गाई’ मा मतदान गर्न आग्रह गरेका थिए । अन्य दलहरुले चुनाव जित्न नसकेपछि केन्द्रिय नेताहरुलाई बोलाउँछन् तर आफू आफ्नै बुवा देवकुमार भारतीसँग सहकार्य गरी चुनावी प्रचारप्रसारमा उत्रिएको बताए । यसपटक आफ्नो पक्षमा जनमत रहेको उनले दाबी गर्दै जीत पक्का रहेको बताएका थिए ।