– रुपलाल बोहोरा
दुनै (डोल्पा), १३ मंसिर । पहिलो चरणअन्तर्गत डोल्पामा गत आइतबार मतदान भएका सबै मतदान केन्द्रबाट बुधबार मतपेटीकाहरु संकलन गरी सदरमुकाम ल्याइएको छ ।
जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटीकाहरु बुधवार सदरमुकाम दुनै स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय ल्याइएको मुख्य निर्वाचन अधिकृत रेमशप्रसाद ज्ञवालीले बताए । मतदान सकिने वित्तिकै गत आइतबारदेखि नै विभिन्न माध्यमबाट मतदान केन्द्रहरुबाट मतपेटीका संकलन कार्य सुरु गरिएको उनले बताए । हेलिकप्टर व्यस्त भएकाले सोमबार आउन नसकेर र मंगलवार हावा चलेकाले आधा मतदान केन्द्रहरुको मात्र मतपेटीका संकलन भएको उनले बताए । मंगलबार संकलन हुन बाँकी रहेका ९ वटा मतदान केन्द्रका मतपेटीकाहरु बुधवार नेपाली सेनाको हेलिकप्टरबाट सदरमुकाम ल्याइएको मुख्य निर्वाचन अधिकृत ज्ञवालीले जानकारी दिए ।
जिल्लाका ६६ वटा मतदान केन्द्रमा खसेको मत अनुसार ८३ प्रतिशत मत खसेको पनि मुख्य निर्वाचन अधिकृत ज्ञावालीले बताए । कर्णालीका अन्य जिल्लाको तुलनामा डोल्पामा बढि मत खसेको जिल्ला निर्वाचन अधिकारी बिक्रम गिरीले बताए ।
निष्पक्ष निर्वाचन नगराएको भन्दै काँग्रेसको असन्तुष्टि
नेपाली काँग्रेस डोल्पाले निर्वाचन आयोगले डोल्पाका विभिन्न मतदान केन्द्रमा निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन नगराएको आरोप लगाउदै असन्तुष्टि व्यक्त गरेको छ ।
पत्रकार सम्मेलनमार्फत बुधवार माथिल्लो डोल्पाका सबै गाउँपालिकाहरुमा रहेका मतदान केन्द्रमा बाम गठबन्धनले आफ्ना एजेण्टहरु बस्न नदिएको, विभिन्न मतदान केन्द्रमा निष्पक्ष मतदान नगराएको नेपाली काँग्रेस डोल्पाका सभापति अंगद कुमार बुढाले आरोप लगाए । उनले माथिल्लो डोल्पाका २२ मतदान केन्द्र, काइके गाउँपालिकाका ७ वटा मतदान केन्द्र र त्रिपुरासुन्दरी नगरपालिकाका २ वटा मतदान केन्द्रहरु गरी ३१ वटा मतदान केन्द्रमा निष्पक्ष निर्वाचन नगराएकाले पुनः मतदान गराउन माग समेत गरेका छन् ।
मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले नेपाली काँग्रेस डोल्पाले पत्र दिएको र पत्र निर्वाचन आयोग नेपालमा पठाइएको बताउँदै निर्वाचन आयोगले निर्णय गर्ने बताए ।












प्रतिक्रिया