२२ कार्तिक २०८३, आइतबार

उम्मेदवारीसँगै दोधारा चादँनीलाई न्याय

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– शेरबहादुर सिंह 

भीमदत्तनगर, १३ मंसिर । सदरमुकाम भीमदत्तनगरबाट धेरै टाढा नरहे पनि भौगोलिक विकटताका कारण कुनै समय विभिन्न खाले अभाव, सरकारी सुविधाबाट वञ्चित हुनुका साथै भारतीय सीमावर्ती बजारमा श्रम गरी बाँचेका दोधारा चादँनीवासीलाई पछिल्ला समय न्याय मिल्ने क्रम निरन्तर छ ।

पश्चिममा सिमाना नदी महाकाली नदीलाई मानिए पनि तर कञ्चनपुरमा महाकाली नदी पारी पनि कुनै समय दोधारा र चाँदनी गरी दुईवटा गाविस थिए । केही वर्षअघि मात्रै महाकाली नगरपालिका बनेको दोधारा चाँदनी जान पनि भारतीय मोटरबाटोको प्रयोग गर्नुका साथै स्वदेशी भूमि प्रयोग गर्दा ट्युबमा ज्यान जोखिममा राखेर तर्नुपर्ने बाध्यता थियो ।

दशकअघि महाकाली नदीमा निर्माण भएको झोलुंगे पुलले दोधारा चादँनीवासीलाई भीमदत्तनगरलगायत मुलुकलाई जोड्न राहत मिल्यो । भारतीय भूमिबाट नेपाल आवातजावत गर्दा भारतीय पक्षको थिचोमिचो सहेर बसेका दोधारा चादँनीवासीलाई पछिल्ला वर्षमा एकपछि अर्को सुविधा थपिने क्रम चलिरहेको छ ।

केही समयअघि महाकाली नदीमा चार लेनको पुल शिलान्यासको खबरले गद्गद् भएका दोधारा चाँदनीवासीका लागि निर्माण हुने सुख्खा बन्दरगाह अर्को खुशीको विषय थियो ।

चरणबद्धरुपमा सुख्खा बन्दरगाह निर्माणका लागि चलिरहेको सर्वे, बनिरहेका पक्की सडक, खानेपानीलगायतका पूर्वाधार त्यहाँका पछिल्ला उपलब्धि हुन् । जोगबुढा नदीमा बनेका झोलुंगे पुलले समेत स्थानीयवासीलाई भारतीय सीमावर्ती बजारमा आवागमनका लागि अझ सहजता थपेको छ । महाकाली नदीको पानी महाकाली पारीका बस्तीसम्म सिँचाइका लागि पु¥याउने अर्को चरणको कामसमेत थालनी हुने क्रममा छ ।

विकास निर्माणदेखि स्थानीयलाई थपिएका सुविधा मात्रै होइन । राजनीतिक दल नेताको मानसपटमा समेत संख्यामा बढी मतदाता रहेको दोधारा चाँदनीअर्थात् महाकाली नगरपालिका पर्न थालेको छ । आसन्न मंसिर २१ गतेको निर्वाचन नजिकिँदै गर्दा महाकाली नगरपालिकामा नेपाली काँग्रेस र वाम गठबन्धनका उम्मेदवारले चुनावी घरदैलोलाई निकै गति दिएका छन् ।

सदरमुकाम रहेको भीमदत्तनगरभन्दा पनि उम्मेदवार दोधारा चाँदनीमा मतदातालाई रिझाउन उतै बाससमेत बस्न थालेका छन् । निर्वाचन क्षेत्र नं ३ को २२ हजारभन्दा बढी मतदाता महाकाली नगरपालिकामा रहेका छन् ।

स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार वीरबहादुर सुनार नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो । अंक गणित हेर्ने हो भने महाकाली नगरपालिकामा नेपाली काँग्रेसको प्रभाव क्षेत्र मानिन्छ । २०७० सालको संविधानसभाको निर्वाचनमा महाकाली नगरपालिकाबाट नेपाली काँग्रेसका नेता रमेश लेखकले अरु पार्टीका उम्मेदवारभन्दा दोब्बर बढी मत पाउनुभएको थियो ।

आसन्न निर्वाचनमा राजनीतिक दलले महाकाली नगरपालिकालाई निर्वाचन क्षेत्र नं ३ ‘ख’को उम्मेदवार दिएकोमा हर्षित छन् । “हामीलाई उम्मेदवार होइन, पार्टीले न्याय नै गरेका हुन् ।” महाकाली नगरपालिकाका स्थानीय भीमबहादुर सिंहले भन्नुभयो– “अहिलेसम्म माथिल्लो निकायमा यहाँका नेताले कुनै पार्टीबाट टिकट पाएका थिएनन् ।”

निर्वाचन क्षेत्र नं ३ को ‘ख’ प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसले बेलबहादुर रानालाई उम्मेदवार बनाएको छ भने वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार मानबहादुर सुनार चुनावी दौडमा छन् । दुवैजना महाकाली नगरपालिकाका स्थानीय भएकाले दोधारा चाँदनीवासीले पहिलोपटक भूगोललाई न्याय भएको बताइरहेका छन् ।

‘ख’ प्रदेशमा महाकाली नगरपालिकाका दश वटा र भीमदत्त नगरपालिकाका सात वडा रहेका छन् । दुवै उम्मेदवार यसअघि दोधारामा पूर्व गाविस अध्यक्ष समेत रहिसकेका छन् । यसअघि नेपाली काँग्रेसबाट हालका नगरप्रमुख वीरबहादुर सुनार सामुपातिक सांसदको उम्मेदवार रहे पनि सांसद भने हुन सक्नुभएन ।

नेपाली काँग्रेसबाट निर्वाचन क्षेत्र नं ३ ‘ख’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार रहनुभएका बेलबहादुर रानाले प्रजातन्त्र आइसकेपछि दोधारा चाँदनीलाई पहिलोपटक आफूलाई उम्मेदवार बनाएर काँग्रेसले न्याय दिएको बताउनुभयो । “प्रदेशसभामा यहाँबाट पहिलो उम्मेदवार बन्ने व्यक्ति म नै हो ।”

रानाले भन्नुभयो–“दशकौँदेखि दोधारा चाँदनीमा राजनीति गरेकाले मत माग्न घरदैलोमा गइराख्नुपर्ने अवस्था पनि छैन ।” दोधारा चाँदनीको विकासका एजेण्डामा सुघाउ पु-याउन आफू लामो समयदेखि समय खर्चेर लागेको बताउँदै रानाले आसन्न निर्वाचनमा प्रदेशसभामा विजयी हुने दाबी गर्नुभयो ।

“मतदाता दोधारा चाँदनीभन्दा पनि प्रदेशसभामा परेका भीमदत्त नगरपालिकाका वडामा घरदैलो गर्ने सुझाव दिइरहेका छन्” रानाले भन्नुभयो– “विगतको संविधानसभामा पार्टीले पाएको मत हेर्दा पनि विजय यात्रालाई कसैले रोक्न सक्दैन ।”

त्यसैगरी माओवादी केन्द्रका नेता तथा प्रदेश ‘ख’का उम्मेदवार मानबहादुर सुनारले सडक, सिँचाइलगायतका पूर्वाधार विकासका लागि मतदाता माग गरिरहेको बताउनुभयो । “विगतमा पनि यस क्षेत्रमा काम गरिसकेको धेरै अनुभव छन् ।” उहाँले भन्नुभयो– “सुख्खा बन्दरगाह निर्माणदेखि सिँचाइको व्यवस्था गर्ने मेरा मुख्य एजेण्डा हुन् ।” आफ्नो उम्मेदवारीले दोधारा चाँदनीका मतदाता उत्साही रहेको उम्मेदवार सुनारको भनाइ छ । रासस