– मिना बुढाथोकी
सल्यान, १२ मंसिर । सल्यानमा बालविवाह गर्नेहरुको संख्या बढ्दै गएपछि यहाँको एक विद्यालयका विद्यार्थीले आफुहरुले बालविवाह नगर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले सानो उमेरमा विवाह गर्दा आमा र बच्चा दुबैको स्वास्थ्यमा समस्या आउने भन्दै आफुहरुले उमेर पुगेपछि मात्रै विवाह गर्ने बताएका हुन् ।
सल्यानको कुमाख मालिका गाउँपालिका वडा नम्बर ६ मा रहेको बुद्ध जन माद्यमिक विद्यालयका विद्यार्थीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । विद्यालयका विद्यार्थी वीरेन्द्र केसीले आफुले उमेर पुगेपछि मात्रै विवाह गर्ने बताए । कक्षा १० मा अध्ययनरत उनले उमेर नै नपुगेर विवाह गर्न लागेको थाहा पाएमा वडा कार्यालय वा प्रहरीलाई जानकारी गराउने समेत बताए ।
यस्तै सोही विद्यालय कक्षा १० मा अध्ययनरत दुर्गा कुँवरले आमा र बच्चाको स्वास्थ्यको लागी पनि उमेर पुगेपछि मात्रै विवाह गर्नु पर्ने बताइन् । उनले सानो उमेरमा विवाह गर्दा शारीरिक तथा मानसिक रुपमा आमा र बच्चा स्वस्थ नहुने बताउदैँ २० बर्ष पुगेपछि मात्रै विवाह गर्नु पर्ने बताइन् ।
स्वास्थ्य चौकी बडागाँउले यस विद्यालयमा बालविवाह सम्बन्धि स्वास्थ्य शिक्षाको कक्षा सञ्चालन गरेपछि उनीहरुले यस्तो बताएका हुन् । विद्यार्थीहरुले आफुले सिकेको कुरालाई ब्यबहारमा उतार्ने पनि बताएका छन् । साथै उनीहरुले आ–आफ्नो घर परिवार तथा समुदायमा पनि बालविवाह न्यूनीकरण गर्न जनचेतनामुलक अभियान सञ्चालन गर्ने बताएका छन् ।
स्वास्थ्य चौकी वडागाँउका इन्चार्ज भिमबहादुर केसी र सुष्मा थापाले मंगलबार यस विद्यालयमा बालविवाहका बारेमा प्रशिक्षण दिएका थिए । साथै उनीहरुले बालविवाहबाट पर्ने असर, बालविवाह हुन नदिनका लागी अपनाउनु पर्ने उपायलगायतका बिषयमा प्रशिक्षण दिएका थिए ।
वडा नम्बर ६ का वडा अध्यक्ष वीरबल शर्माको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा वडा अध्यक्ष शर्माले बालविवाह न्यूनीकरण गर्नु आफ्नो पहिले देखिकै उद्देश्य भएको बताए । आफ्नो वडामा बालविवाह गर्नेहरुको संख्या बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले बालविवाह न्यूनीकरणका लागी सबैसँग सहकार्य गरेर जनचेतनामुलक अभियान सञ्चालन गर्ने बताए । प्रशिक्षण कार्यक्रममा कक्षा ६ देखी कक्षा १२ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।












प्रतिक्रिया